उद्योगले भारत तिर तेल निकासी गरेपछि खाने तेलको मूल्य दोब्बरले वृद्धि

काठमाडौं । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपियाँले बढेको छ । यो तथ्याङ्क २०७६ जेठ ३१ देखि गएको भदौ १० गतेसम्मको हो । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपियाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपियाँ भएको छ ।

यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ बढेको छ । यस्तै २०७६ जेठ ३१ गते प्रतिलिटर भुटेको तोरीको तेल २२० भएकोमा गएको भदौँ १० गते प्रतिलिटर ३६० रुपियाँ पुगेको छ । अहिले भुटेको तोरीको तेल प्रतिलिटर ३९० रुपियाँ छ भने काँचो तोरीको तेल, सनफ्लावर, भटमासको तेलमा प्रतिलिटरमा १० देखि २० रुपियाँ बढेको छ ।

सङ्घका अनुसार २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपियाँ, भएकोमा गएको गएको भदौ १० गतेसम्म तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपियाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपियाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपियाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपियाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपियाँ बढेको छ ।

२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुगमनपश्चात् बारामा रहेका दुई तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले तीन/तीन लाख रुपियाँ जरिवाना गर्दै मूल्य घटाउन निर्देशनसमेत दिएको थियो । विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरेको थियो ।

विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिए पनि उद्योगीले पत्रमा मात्र घटाएको तर उपभोक्ताले घटेको अनुभव गर्न नपाएको खुद्रा व्यापारीहरुको भनाईरहेको छ ।

विभागको पछिल्लो एक अध्ययनअनुसार नेपालमा रहेका कुल २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्युनतम मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गरेको पाइएको छ ।

Back to top button