प्रमुख प्रतिपक्षको अवरोधकाबिच विनियोजन विधेयक २०७८ पारित

काठमाडौं । प्रमुख प्रतिपक्षको अवरोधका बिच आज बसेको प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०७८ पारित भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको अवरोध र नारावाजीका बिच सभामुख अग्निप्रसाद सापकोटाले बहुमतबाट उक्त विधेयक पारित भएको घोषणा गर्नुभएको हो ।

एमाले नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट पेस गरेको थियो ।

आज बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित नहुँदा सरकारले ‘बजेट होलिडे’ को समेत सामना गर्नुपर्‍यो । विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन् ।

विनियोजन विधेयक पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्ताव गर्नुभएको थियो ।

Back to top button