भूमि आयोग खारेज भए पनि बेलकामा काम रोकिएन, ११ सय कित्ता जग्गाको नापि सकियो

बेलका । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरियो ।  खारेज भएपछि धेरैतिर विरोधका कार्यक्रमहरू पनि भए ।
केन्द्रमा आयोग विघटन र पुनर्गठनको खेल चलिरहेका बेला उदयपुरको बेलका नगरपालिकाले धमाधम जग्गा नाप जाँचको काम गरिरहेको छ । सर्वोच्च अदालतले आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश समेत दिएको थियो ।
बेलका नगरपालिकाले २०० बिगाहाभन्दा बढी जग्गाको नापि सकेको छ । वडा नम्बर ५ र ३ मा २०० बिगाहाभन्दा बढी जग्गाको नापि सकेको मेयर दुर्गाकुमार थापाले बताउनुभयो । ‘जम्मा ११ सय कित्ता जग्गा नापिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले त्यही काम गर्नका लागि भनेर राखेका कर्मचारीहरू बिदाका दिन पनि काममा खटेका छन् ।’
बेलका नगरपालिकाले छुट्टै सफ्टवेयरको विकास गरेर जग्गा नाप्ने काम गरिरहेको छ । नापी कार्यालयको सहयोग लिएर काम गरिरहेको नगरपालिकाले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट पटक–पटक फोन गरेर काम रोक्न धम्क्याए पनि आफूले काम नछाडेको मेयर थापाले बताउनुभयो ।
‘मेरो काम म सक्छु, पछि मान्यता दिने नदिने तपाईँहरूको काम हो, मलाई धम्की नदिनुहोला भनेर मन्त्रालयलाई पत्र नै पठाएको छु,’ थापाले हाँस्दै भन्नुभयो। आयोगले सहजीकरण गर्ने र स्थानीय तहले नाप जाँचको काम गर्ने भएकाले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेको मेयर थापाको भनाइ छ ।
जग्गाको कोडिङ र नक्सा गर्ने काम भइरहेको भूमि व्यवस्थापन इकाई प्रमुख मनीषा राईले बताउनुभयो । उहाँका अनुसार बेलकामा भूमिहीन दलित ५ सय ४३, भूमिहीन सुकुम्वासी १ हजार २सय ८४ र अव्यवस्थित बसोबास ८ हजार ९ सय २२ गरी १० हजार ७ सय ४९ जनाको निवेदन परेको थियो । १ नम्बर प्रदेशमा पहिलो चरणमा बेलकासँग सम्झौता गरिएको थियो ।
अन्य पालिकाका कर्मचारी भने कामविहीन भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन १९ गतेदेखि कुनै पनि काम अगाडि नबढाउनू भनी परिपत्र गरेपछि आयोगमा जिल्ला तथा स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा आएर चिया खाएर दिन कटाइरहेका छन् ।
१ नम्बर प्रदेशका १४ जिल्लाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले १ लाख ७५ हजार आवेदन दिएका थिए । १३७ पालिकामध्ये १३२ वटा पालिकाले भूमि सम्बन्धी समस्या समाधान जिल्ला समितिसँग सम्झौता गरेर तथ्याङ्क सङ्कलन, आवेदन लिने र जग्गा नापीको काम अघि बढाएका थिए ।  आएका आवेदनमध्ये १५ हजार आयोगको सफ्टवेयरमा प्रविष्ट भइसकेका र अन्य प्रविष्ट गराउने काम धमाधम भइरहेको अवस्थामा आयोग नै खारेज भएपछि सफ्टवेयर ‘लक’ गरिएको थियो ।
भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलेलाई जग्गा उपलब्ध गराउनका लागि ८ वटा पालिकाले जग्गाको नापी समेत सुरु गरिसकेका थिए । आयोगका अनुसार मोरङको कानेपोखरी, सुनसरीको वराहक्षेत्र, झापाको कनकाई र गौरादह, उदयपुरको बेलका, चौदण्डी गढी, कटारी र इलामको माई नगरपालिकाले जग्गा नापीको काम सुरु गरिरहेका थिए । अरू पालिकाले काम रोके पनि बेलकाले भने कामलाई निरन्तरता दिइरहेको छ । १३२ वटा पालिकामा १ हजारभन्दा बढी कर्मचारी खटिएका थिए ।
मोरङको विराटनगर महानगरपालिका, जहदा, नपाल गाउँपालिका र ताप्लेजुङको मिक्वाखोला, फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले आयोगसँग सम्झौता गरेका थिएनन् । देउवा सरकारले केशव निरौलाको अध्यक्षतामा आयोग केन्द्रमा पुनर्गठन गरे पनि जिल्लामा भने समिति बनेको छैन् ।

Back to top button