शेखर कोइरालाको प्रश्न : कार्यकर्ता नेताहरुको दास हो ?

विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले अझै १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नगरेर कार्यकर्तालाई अन्यौलमा राखेर पार्टी चलाउन मल्छि रु भन्दै प्रश्न गगर्नुभएको छ ।

‘कार्यकर्ताहरु नेताहरुको दास त होइन कतिदिनसम्म कार्यकर्तालाई अन्यौलमा राख्ने ?,’ कोइराला निवासमा मंगलबार पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’

१३ जिल्लाका क्रियाशील सदस्यता आउन अझै कति दिन लाग्ने भन्ने जानकारी कार्यकर्तालाई दिनुपर्ने कोइरालाको भनाई थियो । ‘अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई भनिदिनु पर्‍यो नी ।’ उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवा जीले के हेरेर बस्नुभएको छ ? त्यति भन्न सक्नु हुन्न् । कार्यकर्ताहरुलाई अन्यौलमा राखिदिने ?’

पार्टीका नेताहरु कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजालको तीन सदस्यीय उच्चस्तरीय छानविन समितिले के अहिलेसम्म के गरेको र किन १३ जिल्लाको क्रियाशील सदस्यता आएन भन्दै कोइरालाले प्रश्न गनुृभयो । ‘उच्चस्तरीय छानविन समितिले लिएको तीनको समय पनि बितिसक्दा पनि किन क्रियाशील सदस्यता बाँकी जिल्लाको आएन ?,’ उहाँले भन्नुभयो, ‘कसको गल्ति हो ? सक्नु भएन भने किन तीन दिनमा गर्छु भन्नु भयो उहाँहरुले ।’

कांग्रेस अधिवेशन सार्ने कतिपयले प्रयास गरिरहेको होलान तर अब नसर्ने कोइरालाको भनाई थियो । किनकी महाधिवेशन प्रतिनिधिहरु जितिसकेपछि आवाज उठाउँछन् जसले अब तोकिएकै समयमा महाधिवेशन हुने उनले विश्वास व्यक्त गनुृभयो ।

यसैबीच, सुनिल थापा नेतृत्वको राप्रपाका कार्यकर्तालाई मोरङमा क्रियाशील सदस्यताबाट बञ्चित गराएको प्रति कोइरालाले आपत्ति जनाउनुभयो । ‘सुनलि थापा जी कांग्रेसका सह महामन्त्री हुनुहुन्छ त्यसैले उहाँले मोरङको क्रियाशील सदस्यता किन आएन भनेर जिम्मेवारी लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सभापति देउवाजीले शेखर कोइरालालाई सघाउँछन् भनेर मोरङका राप्रपाबाट समायोजन भएर आएकाहरुको क्रियाशील सदस्यता रोक्नु पार्टीका लागि दुरभाग्य हो ।’

मोरङस्थित १७ वटा स्थानीय तहको १५९ वटा वडामा मंगलबार वडा अधिवेशन हुँदै छ ।

Back to top button