सांसद नारायण खड्का परराष्ट्र मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । अब कांग्रेस सांसद नारायण खड्का मन्त्री बन्ने लगभग पक्का भएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो । ‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धन स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’स्रोतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा। नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने बताउनु भएको छ ।

अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि बैठक बस्ने भएको छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गर्नुभएको थियो । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री हुनुभएको छ भने भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री हुनुहुन्छ। यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नु भएको छ ।

Back to top button