एएफसी एसिया कप २०२२ खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सम्भावना समाप्त

काठमाडौं । अर्को वर्ष भारतमा हुने एएफसी एसिया कप २०२२ खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सम्भावना समाप्त भएको छ । एएफसी एसिया कपको छनोट चरणमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली टोली एसिया कपमा छनोट हुन असफल भएको हो ।

छनोट चरणको समूह एफको शीर्ष स्थानमा फिलिपिन्स तीन अंकका साथ शीर्ष स्थानमा छ । यस समूहमा हङकङले एक अंक जोडेको छ । नेपालले छनोट चरणका दुवै खेल खेलेको छ । ८ असोजमा शीर्ष स्थानका लागि फिलिपिन्स र हङकङबीच अन्तिम खेल हँुदै छ । यस खेलको विजेताले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरी २०२२ सम्म हुनेछ ।

छनोटको अन्तिम खेलमा फिलिपिन्सले गोलरहित बराबरी नतिजा निकाल्दा पनि शीर्ष स्थानमाथि कब्जा जमाउनेछ । हङकङले छनोट चरण पार गर्न फिलिपिन्सलाई धेरै गोलअन्तरले हराउनुपर्नेछ । भारतमा हुने एसिया कपमा स्थान पक्का गर्न नेपालले फिफा वरीयतामा आफूभन्दामाथि रहेको हङकङलाई हराउनुपर्ने थियो । उज्वेकिस्तानमा सम्पन्न खेलमा नेपालले खेल अवधिभर हङकङमाथि दबाब राखे पनि जित निकाल्न सकेन । पहिलो हाफमा नेपाली महिला खेलाडीको एक प्रहार क्रसबारमा लागेको थियो । छनोट चरणका लागि हङकङले धेरै अगाडिदेखि नै तयारी गरेको थियो ।

हङकङले सिनियर तथा युवा खेलाडीलाई प्राथमिकतामा राखी टोली घोषणा गरेको थियो । नेपालले उज्वेकिस्तानमा प्रतिस्पर्धा गर्नुअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलपछि नेपाली टोली छनोट चरणमा भाग लिन उज्वेकिस्तान गएको थियो । यद्यपि मंगलबारको खेलमा नेपालले बल पोसेसन निकै राम्रो बनाए पनि गोल गर्न भने सकेन । जसका कारण नेपालले हङकङसँग एक अंक बाँड्यो ।

हङकङविरुद्धको खेलमा नेपालले फराकिलो गोलअन्तरले जित निकाल्नुपर्ने थियो । छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो । नेपालले फिलिपिन्सविरुद्ध सुरुवाती गोल गरेको थियो । नेपालले आफ्नो अग्रता अन्तिम समयसम्म रक्षा गर्न नसक्दा फिलिपिन्सलाई तीन अंक सुम्पियो ।

Back to top button