धनुषाका शिक्षा अधिकारीमाथि हातपात

धनुषा ।धनुषामा शिक्षा अधिकारीमाथि हातपात भएको छ । सरुवा विवादका कारण एक जना राहत शिक्षकका बुवाले शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका प्रमुखमाथि हातपात गर्नुभएको हो । मंगलवार दिउसो धनुषाको शहीद नगरपालिका– १ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक माधव राय यादवका बुवा बेचन यादवले आफ्नो छोरासहितका शिक्षकलाई कानून विपरीत सरुवा गरिएको भन्दै शिक्षा एकाइका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीमाथि हातपात गर्नुभएको हो ।
प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार अवकाश प्राप्त शिक्षकसमेत रहेका बेचन यादव छोराको सरुवा सम्बन्धी समस्या लिएर कार्यालयमा आउनु भएको थियो । तर प्रमुख ज्ञवालीले बेवास्ता गर्दै कार्यालयबाट निस्किन लागेपछि बचेन यादव हातपातमा उत्रिनुभएको थियो । तर प्रमुख ज्ञवालीले आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा पुग्न ढिलो भइरहेको कारण कार्यालयबाट निस्किन लाग्दा होहल्ला भएको बताउनुभयो। उहाँले आफूमाथि हातपात नभएको दाबी गर्नुभयो।
माधवको बुवा बेचन यादवले कानून विपरित गरिएको सरुवा बदर र बक्यौता तलबको माग गर्न समन्वय एकाइ समितिमा जाँदा घटना भएको बताउनुभयो । आफ्नो गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्वय एकाइमा कयौं पटक निवेदन दर्ता गराएपनि हालसम्म पहल नहुँदा अप्रिय घटना उत्पन्न भएको उहाँको भनाइ छ ।
शहीद नगरपालिका शिक्षा एकाइ समितिले सो विद्यालयमा कार्यरत माधव यादवलाई सोही वडाको कुम्भकर्णस्थित विद्यालयमा र भरतप्रसाद यादवलाई बेमरखीमा सरुवा गरी काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई ल्याउँदा विवाद भएको हो ।

Back to top button