रोग लुकाउँदा मोरङमा कुष्ठरोगीको संख्या बढ्दै

विराटनगर । जिल्लामा पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले जनाएको छ । सामाजिक विहिष्करणको डरले रोग लुकाउँदा कुष्ठरोगीको संख्यामा वृद्धि भएको हो । रोगीले रोग लुकाउँदा अन्य व्यक्तिमा सर्ने गरेको चिकित्सकको भनाई छ ।

स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ रोग अधिकृत मुलुकचन्द राजबंशीका अनुसार जिल्लास्थित १४ स्थानीय तहमा गत आर्थिक वर्षमा ११६ जना कुष्ठ रोगका नयाँ बिरामी थपिएका छन् । योसँगै जिल्लामा कुष्ठ रोगीको संख्या १३१ पुगेको राजबंशीले बताउनुभयो ।

विराटनगर महानगरमा सबभन्दा बढी ५१ जना कुष्ठरोगीको संख्या रहेको छ । सबभन्दा कम बुढीगंगा र ग्रामथानमा १/१ जना कुष्ठरोगी रहेको हो । लेटाङ नगरपालिका, केराबारी र मिक्लाजुङमा कोष्ठरोगीको संख्या शून्य रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा को प्रथम चौमासिकमा मोरङमा कुष्ठरोेगका ११ जना बिरामीहरु थिए । तर उक्त आर्थिक वर्षको अन्त्यमा कुष्ठरोगीको संख्या ९७ पुगेको थियो । जसमध्ये ८२ जनाले कुष्ठरोगको ६ महिने औषधी सेवन गरेपछि निको भएको राजबंशीले बताउनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा थपिएका ११६ र विगत वर्षको बाँकी गरी कूल १३१ जना कुष्ठरोगीको संख्या पुगेको हो । प्रत्येक ४÷४ महिनामा कुष्ठरोगीको तथ्यांक आउने गरेकोले चालु आर्थिक वर्षमा देखिएका नयाँ रोगीको तथ्यांक आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

११ वर्ष अघि सन् २०१० मा नेपाल कुष्ठरोग निवारण मुलुक घोषणा भइसके पनि तराईका जिल्लाहरुमा कुष्ठरोगीको संख्या रहेको राजबंशीले बताउनुभयो । ‘कुष्ठरोगलाई पूर्वजन्मको दुष्कर्मको फल भन्ने अन्धविश्वासले रोग लुकाउने गरेको छ,’ उहाँले भन्नुभयो, ‘समाजले कुष्ठरोगीलाई पूर्वजन्म गरेको पापको फल भन्दै घृणाका साथै सामाजिक बहिष्कार गर्ने गरेकाले रोग लुकाउने बढेको छ ।’

रोग लुकाउँदा अन्य व्यक्तिमा सर्ने गरेको हुँदा कुष्ठरोगीको संख्यामा वृद्धि भएको राजबंशीको भनाई छ । उहाँले कुष्ठरोग कुनै पूर्वजन्मको दुष्कर्मले नभई ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने गरेकोले उपचार गरेपछि निको हुने रोग भएकोले शरीरमा कही लाटो, फुस्रे दाग देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जचाउन आग्रह गर्नुभयो ।

कुष्ठरोग कम जिवाणु भएको ‘प्यासी ब्यास्लरी’(पि.बी.) र बढी जिवाणु भएको ‘मल्टी ब्यास्लरी’(एम.बी.) गरी दुई प्रकारका छन् । जिल्लामा पि.बी.को १०१ र एम.बी.को ३० जना रोगी रहेको स्वास्थ्य कार्याल्यको तथ्यांक छ ।

‘कुष्ठरोगको संक्रमण छाला र स्नायुमा हुने गरेकोले समयमा उपचार नहुँदा अंगभंग भएर अपांगता हुने गरेकोले सबैलाई सचेतता अपनाउनु आवश्यक छ,’ राजबंशीले भन्नुभयो, ‘कुष्ठरोग लागेपछि छालामा लाटो फुस्रे दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुनिने, दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरीरका विभिन्न भागमा घाउ खटिरा अंगभंग हुन्छ ।’

कुष्ठरोग लागेपछि छाला रातो हुने, अनुहारको छाला र कानको लोति बाक्लो हुने, गिर्खाहरू देखापर्ने र स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने लगायतका लक्षणहरु समेत देखिन्छन् । यसको रोकथामका लागि रोग लुकाउनुको साटो समयमा नै उपचार गराए निको हुने राजबंशीले बताउनुभयो । उहाँले सरकारले कुष्ठरोगको निःशुल्क उपचार गर्दै आएकोले सबैलाई सचेतता अपनाउन आग्रह गर्नुभयो । पि.बी. कुष्ठरोगीले ६ महिना र एम.बी. कुष्ठरोगीले १२ महिनासम्म नियमित औषधी सेवन गरेपछि निको हुने गरेको राजबंशीले बताउनुभयो ।

Back to top button