चल्दैछ परम्परागत पेशाबाटै जीवन

निशा दाहाल (रोमा),

कटहरी । ब्यस्त राजमार्ग । बिहानको ९ बज्न केहि समय बाँकी छ । रुटमा चल्ने गाडि, विभिन्न पेशा, व्यवसाय, अध्ययन र मजदुरीकालागि राजधानी प्रवेश गर्नेहरुको घुईंचो लाग्दै छ । बस, कार, मोटरसाइकल, सिटीसफारी र साइकल सवैको ध्यान गन्तव्य छिचोल्ने नै छ ।

अधिकांश राजधानी छिर्ने र केहि राजधानी बाहिरिने सवारी देखिन्छन् । यहि ब्यस्त सडकहुँदै आएको एउटा साइकल भने टाँसिएको राजधानी छिर्नबाट रोकिन्छ । साइकल चालक सीमा जोडिएको राजधानीलाई चुनौती दिँदै आफ्नो भविष्य सीमामा नै खोज्ने निर्णयमा पुग्छन् । साइकलको अगाडि झुण्डिएका बोराको झोला निकाल्दै भूईमा बिसाउँछन् । त्यहाँबाट निस्किन्छन्, बोरा जोडेर बनाइएको ओछ्यान, दुई छाता, एउटा मुढा र आवश्यक अन्य सामाग्री । अनि शुरु हुन्छ, उनको व्यवसाय त्यहि सडक किनारमा ।

यसरी शुरु भएको व्यवसाय चलेको पनि वर्षौ बितेको छ । व्यवसायले दिने आम्दानी पनि बढेको छ । तर दैनिकी भने उस्तै छ । अनि उस्तै छ विगतको आम्दानीले धान्ने अवस्था र अहिलेको आम्दानीले धानेको आर्थिक अवस्था । उ बेलाको कमाई अनि अहिले महंगीले अवस्थालाई ज्यूँ का त्यूँ राख्न भूमिका खेलेकै छन् ।

‘जे जस्तो भएपनि परम्परागत पेशाबाटै जीवन चलेकै छ’, मोरङको कटहरी गाउँपालिका–३ का ४२ वर्षीय अशोक राम मोचि धुलो छोप्न लगाइएको मास्क अलि तल झार्दै भन्नुहुन्छ,‘तर अब चाँही परम्परागत पेशा गर्नेहरु भेटिदैन होला ।’ सिंगीया खोलाको पूर्व तिर विराटनगर–रंगेली सडक किनारमा बसेर जुत्ता चप्पल मर्मत गर्दै आएका अशोकले यहि पेशाबाट घरपरिवार चलाउँदै आउनुभएको छ ।

दुई छोरी, एक छोरा र श्रीमतीसहित ५ जनाको परिवार आफ्नै समुदायसँग तुलनागर्दा सन्तोषजनक रुपमा नै पालिएको उहाँको बुझाई छ । दिनभर धुलो र धुवाँकै बिच काम गरेर भएपनि उहाँले छोराछोरीलाई सुनौलो भविष्यका लागि भन्दै निजी विद्यालय नै पढाउनुभयो । ठूलो छोरा स्नातकतहमा अध्ययन गर्ने मात्र नभई कमाउने समेत भएकोमा अशोक दङ्ग हुनुहुन्छ । ‘पढ्दै पनि छ, ट्युसन पनि पढाउँदै छ, उहाँले भन्नुभयो, हिजो आज त बेलुका पनि ‘पार्ट टाइम’ कता हो कम्प्युटरको काम पनि गर्छ रे ।’ यस्तै जेठी छोरी विद्यालय शिक्षा सकेर ब्यूटिपार्लरमा काम गर्दैछिन् भने कान्छी छोरी अहिले कक्षा १२ मा अर्किड कलेजमा अध्ययनरत छिन् ।

पुखौँली पेसा हो जुत्ता चप्पल सिलाउने । तर उहाँलाई यहिं पुर्खौली पेशा अब सन्तानले पनि गरुन् झै लागेको छैन । यो पेशाबाट मात्र जीवन चल्छ, थप प्रगतिको लागि विकल्प खोजेकै राम्रो

विगतमा कतिपय दिनहरु पिडादायी पनि थिए । तर ति दिनलाई सम्झन नचाहने अशोक आफूले जे जति गर्न सके त्यसमै सन्तुष्ट हुनुहुन्छ । उहाँको पुखौँली पेसा हो जुत्ता चप्पल सिलाउने । तर उहाँलाई यहिं पुर्खौली पेशा अब सन्तानले पनि गरुन् झै लागेको छैन । यो पेशाबाट मात्र जीवन चल्छ, थप प्रगतिको लागि विकल्प खोजेकै राम्रो हो भन्ने उहाँलाई पनि आभाष भएको छ । उहाँले अहिलेसम्म राज्यका तर्फबाट कुनै सहयोग नपाएको बताउँदै अशोकले यहि पेशालाई उद्योगका रुपमा विकास गर्न सकिने बताउनुहुन्छ ।

त्यसो त स्नातकोत्तर क्याम्पसका समाजशास्त्र अध्यापन गराउँदै आउनुभएका सहप्राध्यापक डिल्लि प्रसाईं पनि परम्परागत पेशालाई जोगाई राख्न मुस्किल हुने बताउनुहुन्छ । उ बेला समाजको आवश्यकता र उपलब्ध सामाग्रीको प्रयोग गर्दैै कामको वर्गिकरण गरियो । चार जात छत्तिस वर्णमा विभाजन गरि कुनै जातलाई छालाको काम अर्कोलाई लुगाको, अर्कोलाई फलामको यस्तै यस्तै । त्यसबेला सवै जातजातीलाई कामको वर्गिकरण गरियो ।

उहाँ भन्नुहुन्छ, प्राविधिक जनशक्तिको रुपमा काम लगाउन खोजिएको पाइन्छ । तर अहिलेसम्म आइपुग्दा धेरैवटा व्यवस्था परिवर्तन भए । राजतन्त्र, लोकतन्त्र हुँदै मुलुक संघीय गणतन्त्रमा आइपुगेको छ । सँगै नविनतम प्रविधिहरु भित्रिएका छन् । विश्व नै एउटा गाउँका रुपमा विकास भएको छ । संसारको जुनसुकै ठाउँमा बनेको बस्तु संसारभर सहजै पुग्न थालेका छन् । सँगै मानिसहरुसँग विकल्प पनि प्रशस्त छन् । जुनसुकै पेशा जो कोहिले गर्न पाउँछ । त्यसैले परम्परागत पेशाहरु संकटमा पर्दै जानु स्वभाविक हो ।

यस्ता पेशा व्यवसाय नेपालको संस्कृती पनि हो । यसको संरक्षणका लागि राज्यले पनि ध्यान दिन सक्नुपर्छ । परम्परागत पेशालाई अपनाउँदै आएकाहरुलाई समयसापेक्ष प्रविधिमैत्री बनाएर अघि बढाउन आवश्यक छ ।

यद्यपी यस्ता पेशा व्यवसाय नेपालको संस्कृती पनि हो । यसको संरक्षणका लागि राज्यले पनि ध्यान दिन सक्नुपर्छ । परम्परागत पेशालाई अपनाउँदै आएकाहरुलाई समयसापेक्ष प्रविधिमैत्री बनाएर अघि बढाउन आवश्यक छ । त्यसो गर्न सक्दा ति उत्पादनले पनि राम्रो बजार पाउनसक्ने उहाँको विश्वास छ । प्रतिष्पर्धि आधुनिक बजारमा परम्परागत उत्पादनले प्रतिष्पर्धा गर्न मुस्किल हुन्छ । यस्ता उत्पादनहरुको लागत निकै बढी हुन्छ तर टिकाउ पनि हुन्छन् । त्यसैले आवश्यक कच्चा पदार्थको उपलब्धता र प्रविधियुक्त उत्पादनमा जोड्न सके यसले राज्यलाई नै सहयोग पुग्ने उहाँको तर्क छ ।

Back to top button