राजनीतिक प्रतिशोध साँध्न मलाई फसाइयो : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँध्न आफूलाई फसाइएको बताउनुभएको छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उहाँले भन्नु भयो, पूर्वाग्राह राखेर मलाई फसाउन खोजियो, म लोकतन्त्रमाथि विश्वास गर्छु त्यसैले न्यायलयमाथि पूर्ण विश्वास छ ।

निकै ठूलो षड्यन्त्रपूर्वक आफ्नो राजनैतिक भविष्य ध्वस्त पार्न खोजिएको भन्दै उहाँले भन्नुभयो, ‘कम्युनिष्ट सरकारको अधिनायकवादबाट नै षडयन्त्र भएको हो । त्यसैले सचेत नागरिकहरुले सजग हुन आवश्यक छ’ ।

आफु उपप्रधानमन्त्री हुँदा सरकारको कुनै खर्च नगरेको, व्यक्तिगत स्वार्थकालागि कुनै काम नगरेको जिकिर गर्दै नेता गच्छदारले आफुमाथि किन निराधारआरोप लगाइयो भन्ने प्रश्न उठेको बताउनुभयो ।

संविधान निर्माणका बेला आफूले सहजीकरण गरेकै कारणले दलहरूमा सहमति बनेको भन्दै उहाँले लोकतन्त्रप्रति अपार विश्वास रहेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले कम्युनिष्टको दुईतिहाइ सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

यस्तै उपसभापति गच्छदारले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आफ्नो इच्छा नरहेको भन्दै उहाँले आफु लोकतान्त्रिक फोरमबाट काग्रेसमा बलियो बनाउनका लागि आएको प्रष्याउनुभयो ।

उहाँले भन्नुभयो,‘ म कांग्रेसलाई बलियो बनाउन आएको हुँ, कांग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।’

Back to top button