तीनलाख नजुट्दा घर–घरमा पुर्‍याइएको ग्याँस बन्द हुँदै

इन्द्र शर्मा,

विराटनगर । विराटनगर महानगरपालिका– १४ स्थित गौ सेवा सदनबाट उत्पादन गरेर पाइप मार्फत स्थानीयका घर– घरमा पुर्‍याइएको ग्याँस यतिबेला बन्द सरह भएको छ । पाइपबाट ग्याँस आउन छाडेपछि स्थानीयका ग्याँस चुल्हो बन्द भएका छन् ।

करौडौ खर्च गरेर बनाइएको गोवर ग्यास प्लान्ट मार्फत उत्पादन भएको ग्याँस गत वैशाख देखि नै बन्द भएको हो । विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसले ‘कम्पाउण्ड वाल’ (पर्खाल) लगाउने क्रममा ग्यासको पाइप लिक भएपछि स्थानीयको भान्सासम्म ग्याँस जान बन्द भएको हो ।

पाइप फुटेर ग्यास लिक भएपछि आर्थिक अभाव देखाउँदै गौ सेवा सदनले बन्द गराएको हो । आर्थिक अभाव तथा जनशक्ति कम भएकाले ग्याँस वितरण प्रभावित बन्न पुगेको गौ सेवा सदनका प्रबन्धक सन्तोषकुमार यादवले बताउनुभयो ।

उहाँका अनुशार तत्काल मर्मत गर्न तीन लाख रुपैयाँ लाग्ने देखियो, त्यो खर्च जुटाउन नसक्दा सेवा प्रभावित बनेको हो । उक्त प्लान्टमा तीन जना कर्मचारी छन् । जसमा एक जना प्राविधिक र दुई जना श्रमिक रहेको यादवले बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, विश्व बैङ्क तथा जलवायु लगानी कोषको सहयोगमा नवीकरणीय ऊर्जा विस्तार आयोजनाको एक करोड ११ लाख, गौ–सेवा सदनको २७ लाख र विराटनगर महानगरपालिकाको १२ लाख रुपैयाँसहित एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो प्लान्ट सञ्चालनमा आएको तीन वर्ष पूरा नहुँदै बन्द हुने अवस्थामा आईपुगेको हो ।

उक्त प्लान्टको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ भदौ ५ गते भव्यताको साथ उद्घाटन गर्नुभएको थियो । संविधान निर्माणका बेला भारतले लगाएको नाकाबन्दीको समयमा ग्याँस प्लान्ट उद्घाटन गर्दै उहाँले नाकाबन्दीको सामना गर्न नेपाली तयार रहेको सन्देश दिनुभएको थियो ।

यसरी बहुचर्चित बनेको यो प्लान्ट तीन लाख रुपैयाँ समयमा उपलब्ध गराउन नसकेकै कारण बन्द हुने अवस्थामा पुग्दा चिन्ता लागेको स्थानीय सुशील चौधरीले बताउनुभयो ।

यता लामो समयसम्म उपयोग विहिन बन्दा संरचनाहरु समेत रुग्ण बन्ने हुँदा सदनले चार घरका लागि मात्रै दिँदै आएको सेवा समेत बन्द गर्न लागेको छ । उपयोग नहुने तर खर्च मात्रै धान्नुपर्ने हुँदा सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको यादवले बताउनुभयो ।

जमिनमुनिदेखि ‘पाईप लाइन’ मार्फत घर–घरमा बायो ग्याँस पुर्‍याएर एलपी ग्याँसको खपतलाई न्यूनिकरण गर्दै जाने सरकारी योजना सरकारकै कारण अलपत्र बन्दै गएको हो ।

विराटनगर महानगरपालिकाले भने उक्त ग्याँस प्लान्ट आफ्नो योजना नभएको भन्दै पन्छिने गरेको छ । ‘गौ सेवा सदनलाई प्रत्येक वर्ष सहयोग गर्दै आएको छौं,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भन्नुभयो,‘ एकै ठाउँमा पटक–पटक सघाउन सक्ने अवस्था पनि हुदैन ।’

एउटा प्रधानमन्त्री भएको समयमा गरीएका काम अर्काे प्रधानमन्त्री हुँदा रोकिने गरेका कारणले समेत धेरै योजनाहरु अलपत्र पर्ने अवस्थामा आएका छन् ।

गौशालाबाट उत्पादित गोबरलाई सदुपयोग गर्दै २ सय घन मिटरको प्लान्ट जडान गरिएको हो । जसबाट २७ घरपरिवार लाभान्वित हुँदै आएका थिए ।

यसरी निर्माण भएको थियो गोबरग्याँस प्लान्ट

गौ सेवा सदन २०४२ सालदेखि सञ्चालनमा आएको हो । गौ सदनले उत्पादित गोबरको सदुपयोग गर्न माग गर्दै २०७२ पुस ९ गते जिल्ला समन्वय समिति मोरङमा निवेदन दिएको थियो ।

खेर गइरहेको गोबरबाट ग्याँस उत्पादन गर्दा वरिपरिका स्थानीयलाई राहत पुग्ने भन्दै गौ सेवा सदनले निवेदन दिएको हो । समितिको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २०७३ सालमा सम्भाव्यता अध्ययन गरेको थियो ।

२०७३ माघ २४ मा महानगरपालिकासँग ग्याँस उत्पादनका लागि छलफल भयो । २०७४ असोज २१ मा घर–घरमा ग्याँस वितरण गर्ने निर्णय गरियो । २०७५ असार २२ गते पाइपलाइन बिछ्याउन सम्झौता भई काम अघि बढेको थियो ।

घर– घरमा ग्याँस आउँछ भनेपछि आसपासका स्थानीयमा खुसीयाली समेत छायो । नभन्दै ग्याँस प्लान्ट निर्माण भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ भदौ ५ मा उद्घाटन गर्नुभयो ।

Back to top button