४० वर्ष कटेका सवैको पिसाब जाँच गर्ने सरकारको तयारी

काठमाडौं – ४० वर्ष उमेर कटेका नागरिकको पिसाब जाँच गर्ने सरकारले तयारी थालेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा कृष्ण पौड्यालले मिर्गौला रोगबाट जोगाउन पूर्वसुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताउनुभयो ।

देशका प्रत्येक वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको उहाँको भनाइ छ। उहाँले ४० वर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्न प्रतिव्यक्ति ५० रूपैयाँका दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिनुभयो ।

पूर्व–रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्वसुरक्षाका लागि ध्यान दिएको उहाँको भनाइ छ ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको र डायलासिस गर्न पर्याप्त मेसिन नरहेको बताउनुभयो ।

Back to top button