कुकुर र विरालोलाई रेविज विरुद्ध खोप अभियान

पथरीशनिश्चरे । विश्व रेविज दिवसका अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि कुकुर र विरालोलाई रेविज विरुद्धको निःशुल्क खोप अभियान थालिएको छ । अभियान वडा वडामा गरी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १ नम्बर प्रदेशको समेत सहकार्यमा नगरको पशुपंक्षी शाखाले आज वडा नम्बर ४, ९ र १० का वडा कार्यालय परिसरमा कुकुर र विरालोमा खोप लगाएको हो ।

‘रेविजको तथ्यलाई बुझ्नसके राम्ररी, हट्छ डर त्रास सधैंभरी’ भन्ने नाराका साथ नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा वडा नम्बर ४ मा वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ९ मा वडाध्यक्ष भानुभक्त राई र १० मा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्यसहितका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा खोप लगाइएको हो ।

पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल, प्राविधिक पर्वत साहसहितका प्राविधिकहरुले खोप लगाउनु भएको हो । तीन वडाबाट एउटा विरालो र १ सय ६६ कुकुरमा खोप लगाइएको छ । खोप लगाएपछि पशुधनीलाई खोप कार्ड प्रदान गरिएको छ ।

भोली ७ गते वडा नम्बर ५, ६ र ८, पर्सी ८ गते २, ३ र ७ मा तथा १० गते १ को वडा कार्यालयमा खोप लगाइने छ । ११ र १२ गते पशुसेवा केन्द्र मंगलबारेमा खोप लगाइने छ । पशुसेवा केन्द्रमा भने आवश्यक पर्दा सवै दिन खोप लगाउने व्यवस्था मिलाइएको छ ।

Back to top button