राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न विधेयक ल्याउने तयारी

काठमाडौं । सरकारले आज राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ। दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभा बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी छ। प्रतिस्थापन विद्येयक पास भए सरकारले केहि समय अघि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनेछ ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरेको थियो। सोही व्यवस्थाअनुसार नेकपा एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन्।

केपी ओली नेतृत्वको सरकार ढाल्न मोर्चाबन्दी भएकाबेला एमाले विभाजनका निम्ति सघाउ पुर्‍याउन अध्यादेश ल्याइएको थियो । तर त्यसमै टेकेर अन्य दलहरु पनि विभाजन हुनसक्ने खतरा बढेको भन्दै सरकारले प्रतिस्थापन विधेयक पेस गर्न लागेको हो ।

सरकारले गत भदौ २ गते जारी भएको अध्यादेश भदौ २३ गते प्रतिनिधि सभामा पेस गरेको थियो । संविधानअनुसार यसरी जारी भएको अध्यादेश संसदमा पेस भएको ६० दिनसम्म लागू रहन्छ। ६० दिन भने कार्तिक २१ गते मात्र पुग्छ।

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले अध्यादेश खारेज गर्नुपर्ने अडान राख्दै आएको छ। अध्यादेश लागू रहेकै बेलामा सरकारमा सहभागि हुँदा सत्ता गठबन्धनका दलहरु पुःन विभाजन हुन सक्ने खतरा बढेको छ । त्यसकै कारण मन्त्रिपरिषद विस्तारमा समेत ढिलाई भइरहेको छ।

प्रतिस्थापन विद्येयक ल्याउने तयारी भएपनि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने आर्थिकलगायत अन्य आश्रित विद्येयकहरु छलफल गरी पारित गर्ने जनाइएको छ।

Back to top button