साढे तीन सय शय्याको कोशी अस्पतालमा १० शय्याको आकस्मिक कक्ष, बिरामीको बेहाल

विराटनगर । सप्तरीको बोदे बर्साइन नगरपालिका १ का लोकेन्द्र मण्डलले आफ्ना ३२ दिनका छोरालाई उपचारका लागि बिहीबार साँझ कोशी अस्पतालमा ल्याउनुभएको थियो । अस्पताल प्रशासनले आकस्मिक कक्षमा भर्ना गरेको तर शय्या अभावमा बच्चालाई काँखमै राखेर उपचार सुरु गराएको मण्डलले बताउनुभयो । किनकी प्रत्येक शय्यामा २÷३ जना बिरामीलाई पहिलेदेखि नै राखेर चिकित्सकले उपचार गरिरहेकाले काँखमा राख्नुको बिकल्प थिएन ।

‘दुई घण्टापछि एक जना बिरामी भएकै शय्यामा बच्चालाई राख्न लगाएर चिकित्सकले उपचार गरिरह्यो,’ उहाँले भन्नुभयो, ‘राती ११ बजे अचानक चिकित्सकले शय्या अभावमा भर्ना गर्न नसकिने भन्दै रेफर गरिदिनुभयो ।’ गाउँबाट सस्तोमा उपचारका लागि आएको कोशी अस्पतालमा उपचार नगरिदिएपछि बच्चालाई महंगो विराटनगर अस्पतालमा राखेर उपचार गराउन बाध्य भएको मण्डलले गुनासो पोख्नुभयो ।

यस्तै, उर्लाबारीका रामकुमार राईले उपचार गराउन शुक्रबार कोशी अस्पतालमा आएका थिए । तर शय्या अभावमा निजी अस्पताल जान बाध्य भएको गुनासो पोख्नुभयो । यस्तै, सुनसरीको गढी गाउँपालिका ४ छिटहाकी अन्जना उरावलाई दुई दिनदेखि ज्वरो आइरहेकोले कोशी अस्पतालमा उपचारका लागि आएपछि आकस्मिक कक्षमा भर्ना गरियो । तर शय्या अभावले उहाँ झ्यालमा बसेर उपचार गराइरहनुभएको छ । उहाँले निजी अस्पतालमा उपचारका लागि जाने पैसा नभएकाले झ्यालमा बसेर भए पनि उपचार गराउन बाध्य भएको बताउनुभयो ।

विराटनगरमा रहेको एक मात्र सरकारी अस्पताल कोशीमा उपचारका लागि आउने बिरामीहरुले यस्तै सास्ती भोगन बाध्य हुने गरेका छन् । आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले एउटै शय्यामा ३÷४ जनासम्म बिरामी राखेर उपचार गर्ने गरेको देखिन्छ । आकस्मिक कक्षमा भएको ४ वटा झ्याल पनि अहिलेसम्म शय्याकै रुपमा प्रयोग हुँदै आएको स्वास्थ्यकर्मीहरु बताउनुहुन्छ ।

आकस्मिक कक्षमा कूल १० वटा शय्या रहेको र त्यो २४ सौं घण्टा भरिभराउ नै रहने गरेकोले आकस्मिक सेवा लिन आएका बिरामीहरुलाई जसोतसो झ्याल, भुइँमै राखेर भए पनि सेवा दिन बाध्य भएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताउनुभयो । आकस्मिक कक्ष साँगुरो भएकाले भुइँमा पनि बिरामीलाई राखिसकेको अबस्थामा थप आएका बिरामीहरुलाई रेफर गर्नुको आफूहरुसँग बिकल्पै नहुने गरेको आकस्मिक कक्षमा कार्यरत चिकित्सकले बताउनुभयो ।

आकस्मिक कक्षको तथ्यांक अनुसार दैनिक एक सयदेखि डेढ सय बिरामी उपचारका लागि आउने गरेका छन् । अहिले रुघा, खोकी, ज्वरोको बिरामी भएर बालबालिकाहरु अत्यधिक आउने गरेको चिकित्सकहरुको भनाई छ ।

कोशी अस्पतालमा प्रदेश १ का १४ वटै जिल्लाका साथै प्रदेश २ का सप्तरी, सिरहा, धनुषा जिल्ला र सीमावर्ति भारतीय गाउ“बाट पनि बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको बहिरंग विभागमा दैनिक ११ सयदेखि १३ सयसम्म बिरामी उपचारका लागि आउने गरेकोले बिरामीको अत्यधिक चाप रहेकोले समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताउनुभयो । आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीहरुलाई एउटा शय्यामा दुई जनासम्म राखेर र झ्यालमा सर्पदंशका बिरामीलाई राखेर उपचार गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

सरकारबाट २५० शय्याको स्विकृति र अस्पताल विकास समितिबाट थप १ सय गरी कूल ३५० शय्याको अस्पताल रहेको छ । यस आधारमा कोशी अस्पतालमा कानुनतः न्यूनतम ३५ शय्याको आकस्मिक कक्ष हुनु पर्ने हो तर भौतिक संरचनाको अभाव भन्दै अस्पताल प्रशासनले १० शय्याको मात्रै व्यवस्थापन गरेको हो । तर सधैं झ्याल, स्ट्रेचर, ट्रलीमा गरी ५ सय सय क्षमता अस्पताल सञ्चालन हुँदै आएको अस्पताल प्रमुख दासले स्विकार्नु हुन्छ । यस आधारमा न्यूनतम ५० शय्याको आकस्मिक कक्ष आवश्यक देखिन्छ ।

अस्पतालको क्षमता अनुसार करिव ४० शय्याको आकस्मिक कक्ष आवश्यक भएको प्रमुख दासले स्विकार्नुभयो । ‘आकस्मिक कक्ष न्यूनतम ४० शय्याको आवश्यक भएको तर भौतिक संरचना अभावमा वर्षैंदेखि १० शय्यामा मात्रै चल्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले केही भौतिक संरचनाहरु निर्माण भइरहेकोले चाँडै आकस्मिक कक्ष विस्तार गर्छौं ।’

Back to top button