सीमा नाका पूर्णरुपमा खोल्ने सरकारी निर्णय अझै कार्यान्वयन भएन

विराटनगर । सरकारले गत मंगलबार सीमा नाका पूर्णरुपमा खुल्ला गर्ने गरेको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । सरकारी निर्णय कार्यान्वयन नहुँदा मालबाहक सवारी बाहेकका सवारी साधन भारतबाट नेपाल र नेपालबाट भारत आहोरदोहोर हुन सकेको छैन ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालबाहक सवारी बाहेकका सवारी साधन चलेको छैन । भारतसँग रोटीबेटीको सम्बन्धन भएको तराईबासीले सवारी साधनमा नाता सम्बन्धका घर जान नपाएको विराटनगरका मो. नसरुलले गुनासो पोख्नुभयो ।

अबैध नाकाबाट अत्यधिक चोरी निकासीका साथै सर्वसाधारणले जबरजस्ती सीमावर्ति भारतीय बजार ओहोर दोहोर गर्न थालेपछि स्थानीय प्रशासनले साउन २७ गतेबाट नै पैदल यात्रीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमा नाका खुल्ला गरिसकेको छ । तर नेपालबाट भारत र भारतबाट नेपालतर्फ साइकलसमेत लिएर सुरक्षाकर्मीले आउन जान दिनुहुन्न ।

सीमामा खटिएका सुरक्षाकर्मीले माथिबाट पैदल मात्रै नेपाल–भारत आउन जान दिने आदेश भएकाले कुनैपनि किसिमको सवारी साधन आउन जान नदिएको बताए । मोरङस्थित रानी, तरिगामा, रंगेली, आमतोला, दरैया, मटेरुवा, इस्लामपुरलगायतका नाकाहरुबाट लकडाउन भएदेखि कुनैपनि सवारी साधन आउन जान सकेको छैन ।

सवारी साधन ओहोर दोहोर गर्न नदिँदा सर्वसाधारण मर्कामा परेका छन् । सर्वसाधारणका साथै सबभन्दा बढी पर्यटन व्यवसायी मर्कामा परेका हुन् । विराटनगरका होटल व्यवसायी भवेश श्रेष्ठले भारतीय पर्यटक खुल्ला रुपमा नआएसम्म तराई क्षेत्रका होटल व्यवसाय उक्सिन गाह्रो हुने भएकोले सरकारले पूर्ण रुपमा सीमा नाका खोल्ने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले सरकारले सीमा नाका पूर्ण रुपमा खोल्ने निर्णय गरे पनि कार्यान्व्यन नगरेकोले सर्वसाधारणका साथै तराई क्षेत्रका समग्र पर्यटन व्यवसाय मर्कामा परेको गुनासो पोख्नुभयो । ‘अहिले ३५÷४० प्रतिशत मात्रै होटल व्यवसाय चलेको छ,’ उहाँले भन्नुभयो, ‘भारतीय पर्यटक नआउञ्जेल होटेल व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन सक्दैन ।’

अहिले पैदल आउन जान खुल्ला गरिएको तर खर्च गर्न सक्ने र घुम्न आउने पर्यटक आफ्नै गाडी लिएर आउने गरेकोले त्यो व्यवस्था नहुञ्जेल होटेल व्यवसाय तंग्रिन नसकिने श्रेष्ठको भनाई छ ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश १ का बरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले यहा“को पर्यटन व्यवसाय भारतीय पर्यटकमा आश्रित भएकोले भारतीयलाई स्वतन्त्र रुपमा आउने व्यवस्था सरकारले गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले पूर्ण रुपमा सीमा नाका खोल्ने गरेको निर्णय तत्काल कार्यान्वयन गरेर भारतीय पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न माग गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा नाका पूर्ण रुपमा खोल्ने सरकारको निर्णय प्रमाणीकरण भएर नआएको बताउनुभयो । ‘सरकारले गरेको निर्णय कार्यान्वयनका लागि परिपत्र नआएसम्म पूर्ण रुपमा सीमा नाका खुल्ला गर्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘सीमा नाका खोल्नु अगाडी सुरक्षा समितिको बैठक बसेर नाका व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेर अघि बढ्ने तयारीमा जुटेका छौं ।’

Back to top button