विराटनगरमा इटा उद्योगी लामामाथि खुकुरी प्रहार, खुकुरी प्रहार गर्ने पक्राउ

उद्योगी लामालाई उपचारका लागि काठमाडौं लगियो

विराटनगर । उच्च अदालत विराटनगर अगाडि इटा उद्योगी भक्तपुरको सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार अपरान्ह खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट घाइते लामाको विराटनगर अस्पतालमा उपचार पछि थप उपचारका लागि हवाइजहाजमा काठमाडौं लगिएको हो ।

खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर्षीय बिमल कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताउनुभयो ।

दक्षिणबाट उच्च अदालततर्फ आइरहेका मोटरसाइकलमा सवार कार्कीले कानुन व्यवसायीको ल फर्मबाट उच्च अदालतको गेट अगाडि सडकमा निस्केका लामामाथि खुकुरी प्रहार गरेर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार्कीले सुरुमा लामाको हात, त्यसपछि पेटलगायतका शरीरका बिभिन्न भागमा खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीको भनाई छ । प्रत्यक्षदर्शीहरुले लामाको पेट, हातलगायतको रगत निस्किरहेको भागमा कपडाले बाँधेपछि प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

खुकुरी प्रहारपछि कोशी अस्पतालतर्फ भागेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामाको कटहरी गाउँपालिका-६ मा रहेको इटा उद्योगमा विवाद छ । सोही विवाद मिलाउने सिलसिलामा आएका लामामाथि खुकुरी प्रहार भएकोले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीसीले बताउनुभयो ।

Back to top button