एमालेले जितेको गाँउपालिकामा कांग्रेसका नेताहरुको फोटो

विराटनगर । सरकारी कार्यालयहरूमा राष्ट्रपति, प्रधानमन्त्रीको फोटो राखिनु स्वाभाविक हो । एक हिसाबले भन्दा यसलाई मर्यादा नै मान्नुपर्छ ।
केही कार्यालयमा मुख्यमन्त्रीको समेत फोटो राखिएका हुन्छन् । तर मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालयमा दलका नेताको समेत फोटो राखिएको छ ।
कांग्रेसदेखि कम्युनिस्टसम्मका नेताहरूको फोटो गाउँपालिकाका प्रमुखको कार्यकक्षमा राखिएका छन् । कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह श्रेष्ठ, गिरजाप्रसाद कोइराला लगायतको फोटो राखिएको छ भने पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायत कम्युनिस्ट नेताको फोटो पनि राखिएको छ ।

विभिन्न कालखण्डमा देशको परिवर्तनका लागि योगदान गर्ने नेताहरूको फोटो राखिएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो ।

राजनीतिभन्दा पनि देशलाई उहाँहरूले गरेको योगदानलाई कसैले पनि बिर्सिनु हुँदैन,’ उहाँले भन्नु भयो, ‘विश्वेश्वर नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री, गिरजाप्रसाद कोइरालाले दश वर्षे जनयुद्धमा रहेको तत्कालीन माओवादीलाई शान्ति सम्झौता गर्न खेलेको भूमिका, गणेशमान त्यागी नेता, मनमोहन गाउँको मुहार फेर्ने नेता र नेपाली कम्युनिस्ट आन्दोलनको हस्तीका रूपमा पुष्पलाल र मदन भण्डारीलाई लिएको छु ।’

काफ्लेले एमालेबाट चुनाव जित्नुभएको हो । प्रधानमन्त्री र मुख्यमन्त्री फेरिएपछि हटाइएको फोटो फेरी राखिने अध्यक्ष काफ्लेले बताउनुभएको छ ।

उनले राष्ट्रपतिको फोटो आफू बस्ने भन्दा माथि राखेका छन् भने अन्य फोटोहरू साइडमा राख्नु भएको छ ।

Back to top button