शुरु भयो जितिया पर्व, सन्ततीको दीर्घायुको कामना गर्दै आमाहरु व्रतमा

डिएन पथिक,

विराटनगर । मधेसी समुदायका महिलाहरुले मनाउँदै आएको जितिया पर्व आजदेखि शुरु भएको छ । आफ्ना सन्तानको दीर्घ जीवनको कामना गर्दै मनाईने जितिया पर्वलाई कठिन व्रतको रुपमा समेत मान्ने गरिएको छ ।

तीन दिनसम्म मनाउने जितिया पर्वको पहिलो दिन आज नदी, तलाउ, पोखरीमा स्नानगरी जिमूतवाहन भगवानलाई घिरौलाको पातमा पिना, तोरीको तेल, फूल चढाएपछि व्रत सुरु हुन्छ । ब्रतालु महिलाहरुले विधि पूर्वक स्नान गरेर पानीमा नै घिरौलाको पातमा तोरीको तेल, पिना, फूल चढाएर जिमूतवाहन भगवानलाई आह्वानका गरि ब्रत बस्ने संकल्प गर्ने चलन छ ।

जितिया पर्वमा विशेष गरि विवाहित महिलाहरु माइती घरमा गएर सबै दिदी, बहिनी, आमासँगै मिलेर मनाउने परम्परा छ । यसरी भगवानलाई अर्पण गरेको तोरीको तेल आ–आफ्ना छोराहरुलाई प्रसादको रुपमा टाउको र निधारमा लगाइदिने परम्परा रहेको छ । यसरी लगाइदिँदा सन्तानलाई कुनै प्रकारको रोग नलाग्ने विश्वास रहेको कटहरी गाउँपालिका–३ कबिता यादवले बताउनुभयो ।

स्नान गरि पूजा आरधना गरिसकेपछि भने माछ र मरुवा अर्थात माछा र कोदोको विशेष परिकार खाने प्रचलन रहेको छ । शाकाहारिले भने यसको विकल्पका रुपमा फलफूल खाने चलन छ । समुदाय अनुसार पर्व मनाउने विधिमा भने केही भिन्नता रहेको जानकारहरु बताउँछन् ।

भोली बिहान ४ बजे उठेर शुभ साइतमा गाईको गोबरले आँगनलाई चोख्याइन्छ । त्यसपछि दही, च्युरा, सख्खर, मिठाई, केरालगायतका फलफूल आफ्ना पितृ, स्याल, चिल, जिमूतवाहन भगवानलाई सम्झेर घिरौलाको पातमा चढाएर पूजा गर्ने चलन रहेको विराटनगर –६ कि सुनिता सहनीले बताउनुभयो । ‘जिमूतवाहन भगवानको पूजा गरेपछि स–परिवारले प्रसाद ग्रहण गर्ने भन्दै उहाँले प्रसाद ग्रहणगरेपछि भने शाकाहारिले शाकाहारि भोजन र अन्यले माछामासुका विभिन्न परिकार बनाएर खाने चलन रहेको बताउनुभयो ।

यसमा माछा अनिवार्य जस्तै रहेको उहाँले बताउनुभयो । तर जे जति खाने हो बिहान ५ बजे अगावै खाइसक्नुपर्नेछ । बिहान ५ बजेपछि भने निराहार ब्रत शुरु हुने गर्दछ । विराटनगर ११ की विभादेवी देवका अनुसार यस वर्ष ब्रतालु महिलाहरुले भोलि बिहान ५ बजेदेखि बुधबार साँझ ५ बजेसम्म ३७ घण्टा कठोर निराहार ब्रत बस्नु पर्छ । ‘यो पर्वमा ब्रतालु महिलाहरुले थुकसम्म निल्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘थुक निले वा डकार आए ब्रत भंग हुने कठोर नियम छ ।’

बिहान खाएपछि दिनभरि विभिन्न नाच गान हेर्ने र दिउँसो जिमूतवाहनको कथा सुनेपछि नदी, तलाउ, पोखरीमा स्नान गरी बेलको पात, फूल चढाउने चलन छ । नुहाएर आएपछि आँगनमा घिरौलाकै पातमा केराउ, फलफूल चढाएर पूजा गर्ने चलन रहेको उहाँले बताउनुभयो । आफूहरुले डालीमा फूललगायतका फलफूल भरेर कर्कलाको पातले छोपेर राख्ने र भोली पल्ट ब्रतको अवधी पूरा भएपछि त्यही डाली चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ ।

भविष्य पुराणमा आराध्यदेव महादेव समक्ष पार्वतीले राखेको जिज्ञासामा महादेवले जिमूतवाहनको नियम निष्ठापूर्वक व्रत गर्दा सन्तानको अकाल मृत्यु नहुने भनी बताएकाले यो जितिया पर्व मनाउने परम्परा सुरु भएको कथामा उल्लेख गरिएको व्रतालुहरुले बताएका छन् । भविष्यपुराणमा राजा शालिवानका पुत्र जिमूतवाहनले शीलावती नामकी महिलाका सात छोरालाई दैत्यबाट बचाउँदै अकाल मृत्युबाट जोगाएको सम्झनामा जिमूतवाहनलाई भगवानको रुपमा पूजा गर्ने परम्परा बसेको कथामा वर्णन गरिएको छ ।

यस्तै सन्तानको दीर्घजीवनको कामना गर्दै मनाईने यो पर्वमा भाकल गर्नेहरुले जिमूतवाहन भगवानको मुर्ति बनाएर धुमधामका पूजाआजा गर्ने परम्परा समेत रहेको छ । यहाँका थारु, राजबंशी समुदायले यो पर्वलाई विशेष रुपमा मनाउने गर्छन् । थारु, राजबंशी समुदायमा जिमूतवाहन भगवानको मुर्ति बनाएर नाचगान गरी धुमधामका साथ मनाउने गरिन्छ ।

थारु, राजबंशीहरुले जितिया पर्वका लागि पालेर राखेका ठूल्ठूला खसी काटेर माशुको विभिन्न परिकार पकाई खाने चलन रहेको बुढिगंगाका राजकुमार चौधरीले बताउनुभयो ।

Back to top button