मिक्लाजुङमा मिलेमतोमा अवैध उत्खनन्, स्काभेटरसहित तीनवटा सवारी नियन्त्रणमा

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रहरीसँगको मिलेमतोमा नै अवैध उत्खनन् हुने गरेको पाईएको छ ।

मिक्लाजुङ–४ स्थित टोड्के फेदीमा दिन दहाडै स्काभेटरले नै उत्खनन गर्दै ट्रिपरबाट ढुङ्गा ओसार्दासम्म प्रहरीले अनविज्ञता प्रकट गरेपछि स्थानीयले मिलेमतोमा नै यस्तो भएको आरोप लगाएका छन् ।

हिजो दिउँसो अनुगमनमा पुगेको वडाअध्यक्ष बुद्धिमान लिम्बुसहितको टोलीले धमाधम ढुङ्गा लोड गरिरहेको भेटेपछि नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको थियो । खबर पाएपछि पुगेको टोलीले ती सवारी नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष लिम्बुले भन्नुभयो,‘अनुगमनका क्रममा स्काभेटर सहित दुई वटा ट्रिपरमा लोड भइरहेको देखेर त्यसलाई रोक्यौं र प्रहरीलाई खबर गर्‍यौं ।’ उहाँका अनुशार वातावरणीय प्रभावका हिसाबले पनि निषेध गरिएको क्षेत्रमा पहिरोको जोखिम निम्त्याउने गरि उत्खनन् भएको देखिन्छ ।

अझै २०–२५ ट्रिपर भन्दा बढी फोरेर तयार पारिएको ढुङ्गा हेर्दा केहिदिन अघि देखि नै निरन्तर उत्खनन् भएको देखिन्छ । ‘यसरी उत्खनन् भइरहेको देखेपछि प्रहरीलाई सोध्दा थाहा नपाएको जवाफ दिएको भन्दै वडाअध्यक्ष लिम्बुले प्रहरीकै सम्लग्नताको विषयमा भने आफूले केहि भन्न नसक्ने बताउनुभयो । यद्यपी उहाँले सामाजिक सञ्जालबाट भने मिलेमतोको आशंका व्यक्त गर्नुभएको छ ।

यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्काले अवैध उत्खनन् भएको थाहापाएपछि प्रयोग गरिएका सवारीलाई नियन्त्रणमा लिएर गाउँपालिकालाई जिम्मा लगाएको बताउनुभएको छ । अवैध उत्खनन्मा प्र.१–०१–००१क र स१ क २०१ नम्बरको ट्रिपर र एउटा स्काभेटर नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका स्काभेटरलाई गाउँपालिकाले कारवाही गर्ने गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुशार यसरी अवैध उत्खनन् गरेको पाइएमा स्काभेटरलाई ३५ हजार र ट्रिपरलाई २५ हजारका दरले जरिवाना तिराउने र उत्खनन् गरेका बस्तुलाई जफत गर्ने गरिन्छ । यद्यपी उत्खनन् भएको क्षेत्र वातावरणीय प्रभावका दृष्टिकोणबाट पनि निषेध गरिएको क्षेत्र हो ।

त्यहाँसम्म कसरी पुर्‍याइयो, क्षती के कति भएको छ त्यसको आधारमा आवश्यक कानूनी कारवाही हुने अध्यक्ष आचार्यले बताउनुभयो । उत्खनन् भएको क्षेत्र गाउँपालिकाको कार्यालयबाट कबिर १० किलोमिटर दुरीमा पर्छ । भौगोलिक विकट उक्त क्षेत्र मिक्लाजुङ्गको ३ र ४ वडा सीमा पर्छ । स्थानीय मिक्लु र वाईवा खोलाको संगमदेखि उत्तर वाईवा खोला क्षेत्रमा उत्खनन् भएको हो ।

Back to top button