राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्री खड्का सम्बोधन: खोपलाई सार्वजनिक समान घोषणा गरिनुपर्छ

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नु भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्नु भएको हो ।

सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा प्रकाश पार्नु भएको थियो ।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक सामाजिक असर पारेको बताउनु भयो ।

‘मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्छ,’ मन्त्री खड्काले भन्नु भयो।

कोभिड नियन्त्रणमा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायका प्रयासको प्रशंसा गर्दै मन्त्री खड्काले सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान तरिकाले खोप पाउनु पर्ने कुरामा जोड दिनु भयो ।

ग्रिन हाउस ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका रहे पनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहनु परेको उहाँले बताउनु भयो ।

बितेका ६३ वर्षमा नेपालले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमार्फत् शान्ति, सुरक्षा र स्थायित्वमा योगदान गर्दै आएको उल्लेख गर्दै मन्त्री खड्काले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई अघि बढाउनु पर्ने नेपाल रहेको बताउनुभयो।

Back to top button