१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने उच्चस्तरीय कार्यदलको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद समाधान गर्ने विषयमा छलफल शुरू गरेको छ ।
पार्टीको एकतालाईसुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष समेत उच्चस्तरीय कार्यदलले निकालेको छ ।

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको कार्यदलका संयोजक भीम रावलले जानकारी दिएनु भयो ।

बैठकमा कार्यदलका सदस्यहरूले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि २०७५ जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदलका सदस्य लेखराज भट्टले बताउनु भयो ।

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद हुदै आएको छ । संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नु भयो ।
कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनु भएको छ ।

Back to top button