जितिया पर्वले समतामूलक समाज निर्माण गर्न सकोस् : राष्ट्रपति, एकता र सद्भावलाई प्रवर्धनमा सहयोग पुग्छ : प्रधानमन्त्री

काठमाडौं । तराईमा मधेशी तथा थारु समुदायका आमाहरुले सन्ततीको दिर्घायूको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना ब्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।

जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश जारी गर्दै उहाँले भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउने उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताउनुभएको छ । उहाँले सबैलाई शुभकामना दिंदै नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गर्नुभएको छ । उहाँले यस्ता पर्वको संरक्षण र सम्वर्धनमा सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुृभएको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

Back to top button