काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।
निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्, सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिने मिति लम्बिने छ। न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरिदकालागि आवेदन दिन पाइनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।