कांग्रेस मोरङको नगर अधिवेशन आज,नेतृत्वका लागि प्यानल नै बनाएर नेताहरू चुनावी मैदानमा

विराटनगर । मोरङमा नेपाली कांग्रेसले आज  स्थानीयतह स्तरीय नेतृत्व चयन गर्दै छ । नेतृत्वका लागि प्यानल नै बनाएर कांग्रेसका नेताहरू चुनावी मैदानमा गएका छन् ।
प्रदेश १ को एक मात्रै महानगरपालिका विराटनगरमा ४ जना चुनावी मैदानमा रहेका छन् । सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रवार उम्मेदवारीका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
निर्वाचनमा ६ सय ८१ जनाले मतदान गर्ने पाउने नेपाली कांग्रेस विराटनगरले जनाएको छ । कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साह सभापतिको चुनावी मैदानमा हुनुहुन्छ । कामतलाई पौडेल समूहको समर्थन रहेको छ भने माझीलाई देउवा पक्षका नेताको समर्थन रहेको जनाइएको छ ।
बुढीगंगामा जितबहादुर थापा र रेवतीनारायण चौधरी सभापतिको लागि भिडिरहनु भएको छ ।  थापा कोइराला निकटका हुनुहुन्छ भने चौधरी देउवा निकट।
रङेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगन्नाथ मण्डलबिच प्रतिष्पर्धा हुँदैछ । दुई जना नै  देउवा समूहका नेता हुनुहुन्छ ।
सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमल किशोर सिंह र बैजनाथ झा सभापतिका उम्मेदवार रहनुभएको छ । रतुवामाइको सभापतिमा कनैयालाल राजवंशी र पोस्टबहादुर बस्नेत बिच प्रतिष्पर्धा हुँदैछ ।
सुन्दरहरैंचामा महेन्द्र धिमाल र भक्ति सिटौला सभापतिका उम्मेदवार हुनुहुन्छ । सिटौलालाई कोइराला पक्षका नेताको समर्थन रहेको छ भने धिमाललाई देउवा पक्षको समर्थन रहेको छ ।
बेलबारीको सभापतिमा छत्र लिम्बू र शम्भु भट्टराई बिच प्रतिस्पर्धा हुँदैछ । लिम्बू पौडेल समूह र भट्टराई देउवा समूह निकट मानिनुहुन्छ ।
पथरी शनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रूपनारायण भट्टराई मैदानमा छन् । खरेल देउवा समूह, भट्टराई कोइराला समूह र थापालाई महेश आचार्यको समर्थन रहेको बताइएको छ ।
उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरू सर्वसम्मत चयन भइसकेको छ ।
केराबारीमा पनि सभापतिसहित सबै पदमा सर्वसहमत चयन भएको छ। जहदामा महेन्द्र मण्डलसहितका पदाधिकारी सर्वसम्मत भएको मोरङ काँग्रेसले जनाएको छ ।
उर्लाबारी र केराबारीबाट सर्वसम्मत दुवै सभापति डा. शेखर कोइराला निकट मानिनुहुन्छ । धनपालथानमा सभापतिबाहेक पदाधिकारीहरूमा सर्वसम्मत भएपनि सभापतिमा दीपकवीर पाण्डे र वासुदेव रायको बिच प्रतिस्पर्धा हुँदैछ ।
मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेत सभापतिका लागि चुनावी मैदानमा हुनुहुन्छ । बिहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताउनु भयो ।

Back to top button