साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालको जीत

विराटनगर । माल्दिभ्समा शुरु भएको साफ च्याम्पियनसीपको १३ औं संस्करणको पहिलो खेलमा नेपालले आफ्नो जीत निकालेको छ ।

मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई १ शुन्य गोल अन्तरले पराजित गरेको हो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्नुभएका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गर्नुभएको हो ।

नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बुले केही उत्कृष्ट बचाउ गर्दा माल्दिभ्स गोल गर्नबाट बन्चित हुनपुग्यो । साविक विजेता माल्दिभ्सलाई जितेसँगै नेपालले तीन अंक जोड्दै सुखद सुरुवात गरेको छ ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध आठ खेल खेल्दा पहिलो पटक जितेको हो । यसअघिका सात खेलमा नेपालले दुई खेल बराबरी र पाँच खेलमा पराजय भोग्नुपरेको थियो । पाँच टिम सहभागी साफमा नेपालले अब दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

Back to top button