उपत्यकाका कार्यकर्तासँग प्रकाशमानको गुनासो : बाहिरकालाई मात्र किन ठूलो देख्नुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाका कांग्रेस नेता कार्यकर्तासँग उपत्यकाका नेतालाई सानो देख्नेगरेको गुनासो गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उपत्यकावासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ उपत्यकाले आफ्नो नेतालाई सँधै सानो देख्ने र बाहिरबाट आएको नेतालाई ठूलो मानेर अघि बढाउँदा हामी पछि पर्यौं ।’

नेता सिंहले आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्तिले सधै अरुको झोला बोक्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले कार्यकताहरुसँग प्रश्न गर्दै भन्नुभयो, ‘कि म गणेशमानको छोरा भएकै कारण सभापति बन्न नपाउने हो ?’

उहाँले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा जिताउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ पार्टीलाई जीवन्त राख्न र सक्षम बनाउनकै लागि म ‘फस्ट म्यान’ बन्न अघि बढेको हुँ ।’ उहाँले काम गर्न नसक्नेहरुको गुणगान नगाउन आग्रह गर्नुभयो ।

वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले अब विश्राम लिनुपर्ने भन्दै उहाँले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताउनुभयो ।

२०७४ सालको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएसँगै सभापति देउवा असफल नेता भएको र आफुले राजीनामा मागेको स्मरण गर्नुभयो । उहाँले कांग्रेस सभापति देउवाले आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप समेत लगाउनुभयो ।

Back to top button