जोगबनी नाका पूर्णरुपमा खुल्यो

विराटनगर । विराटनगरको जोगबनी नाका १८ महिनापछि शनिबारदेखि पूर्णरुपमा खुल्ला भएको छ । मोटरसाइकल, कार, जिप, सिटी रिक्सा। साइकलगायतका साना तथा ठूला सवारी साधन आवत जावत खुल्ला भएको हो । सरकारले गत मंगलबार सीमा नाका पूर्णरुपमा खुल्ला गर्ने गरेको निर्णय १२ औंदिनमा कार्यान्वयन भएको छ ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालबाहक सवारी बाहेकका सवारी साधन चलेको थिएन । सीमा नाका पूर्णरुपमा खुल्ला भएपछि सर्वसाधारणले सीमावर्ति भारतीय बजार जोगबनीमा घरायसी उपयोगका सामग्री किनमेलका लागि निजी सवारी लिएर जान थालेका छन् ।

विराटनगर १२ की रामकुमारी सुब्बाले निजी कार लिएर शनिबार दिउ“सो जोगबनीमा गएर दशैंका लागि बिभिन्न सामग्री खरिद गरेर ल्याउँदा निकै सहज भएको बताउनुभयो । ‘डेढ वर्षदेखि सीमा नाका बन्द हुँदा विराटनगरकै पसलहरुबाट महंगोमा घरायसी उपयोगको सामग्री खरिद गर्न बाध्य थियौं,’ उहाँले भन्नुभयो, ‘केही महिनादेखि पैदल जान खुल्ला गरेपछि जोगबनीबाट करिब एक किलोमिटर पैदल हिँडेर घरायसी उपयोगको सामन किनेर ल्याउँदा निकै हैरानी व्यहोरिनु परेको थियो तर अब सहज भयो ।’

विराटनगर, इटहरीलगायतका ठाउँबाट सर्वसाधारणले मोटरसाइकल लिएर जोगबनीमा दशैंका लागि घरायसी उपयोगको सामान खरिद गर्न जानेको घुइँचो लाग्न थालेको छ । यसअघि रानीस्थित ढाट नजिक मोटरसाइकल राखेर पैदल एक किलोमिटर हिँड्दै जोगबनीमा बिभिन्न आवश्यक सामग्री खरिद गर्न जाने बाध्यात्मक अवस्था समाप्त भएको भन्दै विराटनगरका राजकुमार यादवले खुशी व्यक्त गर्नुभयो ।

पूर्ण रुपमा नाका खुल्ला भएपछि विराटनगरका मो. नसरुल अन्सारीले भारतस्थित नाता सम्बन्धमा परिवारका महिला सदस्यहरुलाई डेढ वर्षपछि लिएर जान पाएको बताउनुभयो । ‘नाता सम्बन्ध भारतको ग्रामिण क्षेत्रमा रहेको र उत्ता सवारी साधन पनि प्रयाप्त नपाइने र हिँडेर जान कठिन भएकोले डेढ वर्षदेखि जान पाएका थिएनौं,’ उहाँले भन्नुभयो, ‘निजी र चार पाङ्ग्रे सवारी साधन खुल्ला भएको सूचना पाउने वित्तिकै आफ्नै गाडी लिएर हिँड्यौं ।’

भारतको फार्बिसगञ्जका प्रमेश कुमारले निजी सवारी खुलेपछि डेढ वर्षपछि आफ्नै कार लिएर विराटनगरमा आफ्न्त भेट्न आएको बताउनुभयो । भारतसँग रोटीबेटीको सम्बन्धन भएको तराईबासीले सीमा वारिपारि जान सवारी साधन नखुल्दा नाता सम्बन्धका घर जान पाइरहेका थिएन । तर अब सीमा नाका पूर्ण रुपमा खुल्ला भएपछि सीमा क्षेत्रका बासीन्दा खुशी व्यक्त गरेका छन् ।

अबैध नाकाबाट अत्यधिक चोरी निकासीका साथै सर्वसाधारणले जबरजस्ती सीमावर्ति भारतीय बजार ओहोर दोहोर गर्न थालेपछि स्थानीय प्रशासनले साउन २७ गतेबाट नै पैदल यात्रीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमा नाका खुल्ला गरिसकेको छ । तर नेपालबाट भारत र भारतबाट नेपालतर्फ साइकलसमेत लिएर सुरक्षाकर्मीले आउन जान दिएका थिएन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सरकारले असोज ५ गते नै सीमा नाका पूर्णरुपमा खुल्ला गर्ने निर्णय गरे पनि भन्सार विभागले शुक्रबार आवश्यक तयारी गरेर सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको बताउनुभयो । भन्सार विभागको पत्रका आधारमा विराटनगर भन्सार कार्यालयले आवश्इक तयारी गरेपछि शनिबारदेखि जोगबनी नाका पूर्णरुपमा खुल्ला गरिएको उहाँले बताउनुभयो ।

‘भारतबाट नेपाल र नेपालबाट भारत जान आउन पूर्णरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारी समाप्त नभई संक्रमण मात्रै घटेकोले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुको विकल्प छैन ।’ भारतबाट आउने भारतीय तथा नेपाली नागरिकलाई रानी नाकास्थित हेल्थ डेस्कमा एण्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिने व्यवस्था गरेको प्रजिअ दाहालले बताउनुभयो ।

रानी नाकास्थित हेल्थ डेस्कका प्रमुख डा. कमलकिशोर यादवले साउन २७ गतेदेखि असोज १६ गतेसम्ममा भारतमा बसेर आएका १ हजार ५४१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएको बताउनुभयो ।

‘भारतमा कोरोनाविरुद्धको खोप तिब्र गतिमा लगाएकोले संक्रमण नियन्त्रणमा आएको हुन सक्ने भएकोले भारतबाट आउनेहरुमा संक्रमण देखिएको छैन,’ उनले भने, ‘संक्रमण नदेखिए पनि भारतमा बसेर आउनेहरुलाई नियमित एन्टिजेन परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं ।’ कोरोना संक्रमण न्यूनीकरण मात्रै भएकोले जुनसुकै बेला अर्को लहरको रुपमा आउने सक्ने भएकोले सुरक्षात्मक उपाय छोड्न नमिल्ने उहाँले बताउनुभयो ।

Back to top button