कांग्रेस महाधिवेशन: ६ पालिकामा नयाँ नेतृत्व चयन, केहिमा सर्वसम्मत

विराटनगर । मोरङका १७ स्थानियतह मध्ये ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ । १४ औ महाधिवेशन अन्तर्गत भएको पालिका स्तरीय अधिबेशमा कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका ,बेलबारी र सुनवर्षी नगरपालिकाको नेतृत्व पाएको छ । कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित हुनुभएको छ । दाहालले ७३ मत प्राप्त गर्नु भएको छ भने अर्का सभापतिका उम्मेदवार दीपक चौलागाईले ७१ मत प्राप्त गर्नु भयो । मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित हुनु भएको छ । राईले एक सय ३४ मत प्राप्त गर्नु भएको छ भने अर्का सभापतिका उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत मात्र प्राप्त गर्नु भयो । कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी बन्नु भएको छ ।  उहाँले ८४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गर्नु भयो ।

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी बन्नु भएको छ । पाण्डेले ८३ मत प्राप्त गर्दा सभापतिकै अर्का उम्मेदवार वासुदेव रायले ३७ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, सुनवर्षी नगरपालिका एक सय पाँच मत प्राप्त गर्दै कमल किशोर सिंह सभापतिमा निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार महेश्वर राजवंशीले ८९, वैजनाथ झाले आठ मत प्राप्त गर्नु भएको छ । बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी बन्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी शम्भु भट्टराईलाई २४ मत अन्तरले पराजित गर्दै लिम्बु  विजयी बन्नु भएको हो । लिम्बूले एक सय ३६ मत प्राप्त गर्नुभएको थियो भने  भट्टराईले ९४ मत प्राप्त गरेका गर्नु भएको थियो । यसै गरी उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरू  हिजो नै सर्वसम्मत चयन भइसकेका छन् ।

Back to top button