प्रेस चौतारीद्वारा पत्रकारलाई दुरव्यवहार गर्नेमाथि कारवाहीको माग

विराटनगर । प्रेस चौतारी मोरङले सुन्दरहरैंचामा समाचार संकलनमा खटिएका पत्रकारलाई व्यापारीले दुरव्यवहार गरेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारी मोरङका संयोजक सुदिप कोइरालाले आज एक विज्ञप्ती जारी गरी समाचार संकलनमा खटिएका पत्रकारलाई दुरव्यवहार गर्ने ब्यापारीलाई कारवाहीको दायरामा ल्याउन स्थानी प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ । उक्त घटनाको विज्ञप्तीमार्फत भत्सर्ना गरेको हो ।

बजार अनुगमन टोलीले पसलमा उपभोग्य मिति सकिएका वस्तुहरु जफत गर्दै गरेको दृष्य क्यामेरामा कैद गरिरहेका प्रेस चौतारीका सदस्य रेवती निरौला र पत्रकार शिव भट्टराईलाई स्थानीय व्यापारी अनुरोध साहले समाचार संकलनमा अबरोध गर्नुका साथै दुरव्यवहार गरेका थिए ।

ब्यापारी साहले पत्रकारद्वयलाई भिडियो डिलिट गर्न दबाब, डर, धाक, धम्की समेत देखाएको घट्ना स्वतन्त्र प्रेसको सिद्धान्तविपरित भएकोले तत्काल कारवाहीको दायरामा ल्याउन विज्ञप्तीमार्फत माग गरिएको छ ।

पत्रकार महासंघ मोरङका सभापति संजिब खनालले समेत विज्ञप्तीमार्फत उक्त घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । यस्तै, प्रेस सेन्टर मोरङले पनि घटनाको भत्सर्ना गरेको हो ।

Back to top button