साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल राति ९ः४५ बजे हुनेछ ।

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताउनु भएको छ । बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालले श्रीलंकालाई पनि पराजित गर्न सके, फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ ।

साफ च्याम्पियनसिप इतिहासमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म ५ खेल भएको छ । त्यसमध्ये एक खेलमा मात्र नेपाल विजयी छ । नेपालले अन्तिम पटक सन् १९९९ को साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराएको थियो ।

श्रीलंकाको पक्षमा ३ जित छ भने १ खेल बराबरीमा टुंगिएको छ । सन् २०१५ को केरला साफमा नेपालले पछिल्लो पटक श्रीलंकाको सामना गरेको थियो । उक्त खेल श्रीलंकाले १–० को जित निकालेको हो ।

साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

Back to top button