अझै एकिकृत समाजवादीले मन्त्रीको टुङ्गो लगाउन सकेन, मन्त्रालय भागबण्डा कुर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अझै पार्टीबाट मन्त्री बन्नेहरूको सूची तयार पार्न नसक्दा मन्त्रिपरिषद बिस्तार अन्यौल बनेको छ ।

सरकारमा सहभागिहुने मन्त्रीहरुको नाम टुंग्याउन नसक्दा हिजै हुने भनिएको मन्त्रिपरिषद बिस्तार पनि हुन सकेन । सत्ता गठबन्धनबिच मन्त्रालयको संख्याको बिषयमा सहमति भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने टुङ्गो नलाग्दा एसले मन्त्रिपरिषदमा पठाउने नामबारे औपचारिक रुपमा छलफल समेत गर्नसकेको छैन ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सत्ता गठबन्धनबीच मन्त्रालयको टुङ्गो लागेपछि मात्रै पार्टीबाट क–कसलाई मन्त्रीमा पठाउने भन्ने निर्णय गरिने बताउनुभएको छ ।

मन्त्रालय नटुंगिएसम्म कसलाई पठाउने भन्ने टुङ्गो लाग्न उहाँले बताउनुभयो । यद्यपि आजै गठबन्धनले मन्त्रालय बाँडफाँडबारे टुंगो लगाउने बताईएको छ ।

यसअघि एकीकृत समाजवादीका तर्फबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, मेटमणी चौधरी लगायतको नाम चर्चामा आएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको छैन । लामो समयसम्म सरकारले पूर्णता पाउन नसक्दा चर्काे आलोचना खेप्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलसँग मन्त्री बनाउनेहरूको नाम दिन पटक–पटक आग्रह गर्दै आउनुभएको छ ।

Back to top button