प्रदेश १ मा नव निर्मित प्रदेशसभा भवनको आज उद्घाटन हुँदै (तस्बिरहरु)

विराटनगर । प्रदेश १ सरकारले पहिलो स्थायी संरचना प्रदेशसभा भवन निर्माण गरेको छ । नव निर्मित प्रदेशसभा भवनको आज मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गर्ने तयारी गरिएको हो । असोज २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको बैठक नव निर्मित प्रदेशसभा भवनमा नै हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुविधिा सम्पन्न नयाँ प्रदेशसभा भवन निर्माणका लागि प्रदेश सरकारले कूल ३ करोड १० लाख १८ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको छ । अहिलेको प्रदेशसभा भवन साँगुरो र वर्षायाममा पानी पस्ने गरेकोले प्रदेशसभा सदस्यहरुले नया“ भवन निर्माणका लागि आवाज उठाउँदै आउनुभएको थियो । प्रदेशसभा साँगुरो भएको र कोरोना महामारीले व्यक्तिगत दुरी कायम गरेर बसाई व्यवस्थापन गर्दा पत्रकार र आगन्तुक तथा कर्मचारी अर्को हलमा बस्न बाध्य हुनुभएको थियो ।

नव निर्मित भवनमा सभामुख बस्ने तथा रोष्टमबाहेक प्रदेशसभा सदस्यहरुका लागि ११० वटा कुर्सी, टेबल र टेबलमै माइक जडान गरिएको छ । पत्रकारहरुका लागि माथिल्लो तल्लामा बसाई व्यवस्थापन गरिएको हो । दर्शकदिर्घामा कुल ४० जना, पत्रकारहरुका लागि २० र कर्मचारीहरुका लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

अहिले प्रदेशसभामा सत्तारुढ दल एमाले, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दलहरु माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका लागि छुट्टाछुट्टै बसाई व्यवस्थापन गरिएको छ ।

प्रदेश सरकारले बजेटको सुनिश्चितता गरेपछि प्रदेशसभा सचिवालयले २०७७ असो १ गते प्रदेशसभा भवनको सिलान्यास गरी निर्माण सुरु गरेको थियो । प्रदेशसभा सचिवालयका सचिव पराजुलीले २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँमा स्वामी नारायण निर्माण सेवा धरानलाई ठेक्का दिएको बताउनुभयो । तर भवनको पर्खालको उचाइ बढाउनु पर्ने लगायतको काम थप भएकोले भेरिएशन गरेर भवनको भौतिक संरचनाको लागत २ करोड ५९ लाख २० हजार ९५६ पुगेको उहाँले बताउनुभयो ।

Back to top button