लंकाधिपति रावणको भूमिका निभाउनु भएका अभिनेता अरविन्द त्रिवेदीको निधन

काठमाडौं । भारतीय टेलिभिजनको सर्वाधिक सफल शो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निभाउनु भएका अभिनेता अरविन्द त्रिवेदीको आज हृदयघातका कारण ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँका भतिज कौस्तुभ त्रिवेदीले अभिनेताको निधनको पुष्टि गर्नुभएको हो ।

कौस्तुभका अनुसार अरविन्दको मंगलबार राती १० बजे निधन भएको हो । पछिल्लो दुई तीन दिनयता उहाँको स्वास्थ्य अवस्था खराब थियो । यद्यपि उहाँलाई कुनै रोग भने थिएन ।

अरविन्दको निधनपछि ‘रामायण’मा उहाँसँग अभिनय गर्नुभएका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलिया र फ्यानहरुले उहाँप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ।

रामानन्द सागरको ‘रामायण’मा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गर्नुभएको थियो । ‘आध्यात्मिक रुपमा रामावतारका कारण र सांसारिक रुपले एक धार्मिक, सरल स्वभावका व्यक्ति र मेरो प्रिय मित्र अरविन्द त्रिवेदीजीलाई आज मानव समाजले गुमाएको छ । निश्चय नै उहाँ सिधै परमधाम जानुहुनेछ र भगवान श्रीरामको सानिध्य पाउनुहुनेछ भन्दै अरुणले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

Back to top button