कोरोना बिरुद्दको फाइजर खोप दशैँ पछि मात्र आउने

काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत आउने भनिएको कोरोनाविरुद्धको फाइजर खोप दशैँ पछि मात्र आउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख डाक्टर उपेन्द्र ढुंगानाका अनुशार द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६३० डोज फाइजर खोप दशैं पछि मात्र आउने भएको हो ।

गाभीले नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भन्नका लागि परीक्षण स्वरूप खोप अनुदानमा पठाउन लागेको बताइएको छ। यस्तै माल्दिभ्स र क्यानडाले पनि नेपाललाई अनुदान स्वरुप अस्ट्राजेनिका खोप दिने भएका छन् ।

डा. ढुङ्गानाका अनुसार क्यानडाले ४ लाख डोज र माल्दिभ्सले २ लाख डोज अस्ट्राजेनिका खोप उपलब्ध गराउन लागेका हुन् । नेपाललाई हालसम्म भारत, चीन, अमेरिका, जापान, भुटान, बेलायतले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराइसकेका छन् ।

यसैबिच चीनले अनुदान स्वरुप दिन लागेको खोप पनि दशैं पछि नै आउने भएको छ । ढुङ्गानाका अनुसार चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप आगामी कात्तिकको पहिलो साता आउने भएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले गत १ साउनमा प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो । खरिद गरिएको तर आउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप भने शनिवार आइपुग्ने उहाँले बताउनुभयो ।

Back to top button