मन्त्रिपरिषदलाई पूर्णतादिन फेरि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलहरुले सरकारलाई पूर्णता दिन अन्तिम कसरत स्वरुप आजफेरि बैठक बस्ने भएका छन । लामो समयसम्म मन्त्रालय भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डाका विषय टुङ्ग्याएको थियो । जसमा कांग्रेसले ७, माओवादी केन्द्रले ६, समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी सहमति भएको बताइएको थियो ।

यद्यपी पूर्वसहमति बिपरित आफ्नो पार्टिलाई थोरै मन्त्रालय भाग लगाएको भन्दै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाए पछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

आजको बैठकमा नेता नेपाललाई चित्त बुझाई मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ। एकिकृत समाजवादीको स्थायी कमिटी बैठक सकिएसँगै गठबन्धनको बैठक बस्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुशार बैठक बस्ने तयारी भइरहेको छ यद्यपी समय निश्चित भैसकेको छैन । बैठकमा सहमति जुटे आजै बेलुका मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मध्ये जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।

Back to top button