घुस लिने फार्मेसी अधिकृत भविष्यमा समेत अयोग्य हुनेगरि बर्खास्त

काठमाडौं । सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिने औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भविष्यमा समेत अयोग्य हुनेगरि बर्खास्त गरेको छ।

भ्रष्टाचार गरेको पुष्टि भएपछि अधिकारीलाई भविष्यमा समेत स्वास्थ्य सेवामा अयोग्य हुनेगरी मन्त्रालयले बर्खास्त गरेको हो।

फार्मेसी अधिकृत सातौं तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोजको परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा २०७१ सालमा पक्राउ गरेको थियो।

अधिकारी र सवारी चालक मनोज महर्जन सेवाग्राहीसँग औषधि पसल अनुगमन गरी विभिन्न नमिलेका कुराहरू मिलाइदिन्छु भन्दै १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा विभाग परिसरबाटै पक्राउ पर्नुभएको थियो । विशेष अदालतले अधिकारीले भ्रष्टाचार गरेको ठहर गरेको थियो।

 

Back to top button