सरकार बनेको ८९ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउदै,आज ११ बजे मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको छ ।

बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो।

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्।

बिहीबारको सहमति बमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

गठबन्धनमा मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति जुटेको छ। एकीकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ। उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ।

Back to top button