यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्धय फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । आज नर्वेजियन नोबेल कमिटीले उहाँहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

उहाँहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो शान्तिको पूर्व शर्त रहेको कमिटीले बताएको छ ।

मारिया रेनाले फिलिपिन्समा सरकारको शक्ति दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्नुभएको थियो।

सन् २०१२ मा उहाँले खोजमूलक पत्रकारको डिजिटल कम्पनी रापलरको स्थापना पनि गर्नुभएको थियो, जसको नेतृत्व अहिले पनि उहाँले नै गरिरहनुभएको छ । पत्रकार तगा रापलरको सीईओको रुपमा उहाँले अडिग रहँदै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आउनुभएको छ ।

डिमिट्री मुराटोभले पनि लामो समयदेखि चुनौतीपूर्ण अवस्थामा पनि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आउनुभएको छ। सन् १९९३ मा उहाँसहितको टोलीले स्वतन्त्र अखबार नोभाजा गाजेटा खोलेका थिए । १९९५ पछि उहाँ २४ वर्षसम्म उक्त पत्रिकाको प्रधान सम्पादक रहनुभयो ।

सुरुआतदेखि नै नोभाजा गाजेटाले आलोचनात्मक आलेखहरु प्रकाशित गर्ने गरेको थियो । जसमा भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषयलाई प्राथमिकतामा पर्थे ।

नोभाजा गनजेटालाई लक्षित गरी रुसमा दुव्र्यवहार, धम्की, हिंसा र हत्यासम्मका घटना भएका छन् । पत्रिका सुरु भएयता यो पत्रिकाका ६ जना पत्रकार मारिइसकेका छन् । हत्या तथा धम्कीका घटनाबाट पनि विचलित नभएका प्रधानसम्पादक मुराटोभ पत्रिकाको स्वतन्त्रताको नीतिलाई सदैव अघि बढाएका थिए ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइँदै आएको छ । यस वर्षको लागि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुन बाँकी छ ।

Back to top button