नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं । नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन थालेको हो।

लुम्बिनीका पश्चिमी भूभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार आगामी केही दिनमा देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिनेछ।

‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडी सरेको छ।’

मौसमविद्का अनुसार अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ। यद्यपी सम्भावना निकै न्यून छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक(दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Back to top button