मुख्यमन्त्री दिनु बाध्यता : मिनेन्द्र रिजाल

विराटनगर । नवनियुक्त रक्षा मन्त्री डा.मिनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताउनुभएको छ ।

मन्त्री भएकै भोलिपल्ट गृह जिल्ला मोरङमा आउनु भएका रिजालले विराटनगर विमान स्थलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै सत्ता साझेदार भएकोले नेकपा (एस) लाई  मुख्यमन्त्री दिनु बाध्यता भएको बताउनु भएको हो ।

एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन गरेको बताउनु भयो । नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा (एस) लाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उहाँको यस्तो धारणा आएको हो ।

हिजो बसेको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेस संसदीय  दलका नेता राजीव कोइरालाले समेत प्रदेश सरकारको बचाउ गर्नु भएको थियो । प्रदेश १मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेता समेत अलमलमा परेका छन् ।

Back to top button