१३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट विजयी

काठमाडौ । अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट विजयी भएका छन् । ५ जिल्लामा भने संस्थापन इतर समूह विजयी भएको छ ।

१४ औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लाग्नुभएका देउवाले वडा महाधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनेत गरीरहनु भएको छ । दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो । हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, मयाग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन

अधिवेशन सम्पन्न भएको जिल्लामध्ये देउवा निकट सभापतिहरुमा ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ,, मनाङमा शंकर गुरुङ, रुकुम पूर्वमा केशरमान रोका, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संखुवासभामा दीपक खड्का, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्बबहादुर शाही र बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ ।

यीमध्ये पनि संखुवासभामा निर्वाचित खड्का महामन्त्री शशांक कोइराला निकट मानिनुहुन्छ । गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने महामन्त्रीका दाबेदार गगन थापा निकटका रहेको जनाइएको छ ।

Back to top button