आफ्नै विद्यालयका शिक्षकले कक्षा– १२ को उत्तरपुस्तिका जाँचेपछि मोरङमा विवाद

विराटनगर । कक्षा– १२ को परिक्षाको उत्तरपुस्तिका सम्बन्धित विद्यालयकै शिक्षकले परिक्षण गरेको पाइएपछि मोरङमा विवाद भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड विराटनगरले अन्तरजिल्ला नै उत्तरपुस्तिका परिक्षणका लागि दिएपछि आन्तरिक चलखेल समेत भएको बुझिएको छ । विराटनगरका मेरिल्याण्ड, अरनिको र शिक्षादीप कलेजमा अध्यापन गराउने शिक्षकले सोहि विद्यालयका उत्तरपुस्तिका परिक्षणका लागि लगेको बाहिर आएसँगै अन्य विद्यालयको विरोधपछि राष्ट्रिय परिक्षा बोर्डले ति उत्तरपुस्तिका फिर्ता लिएको छ ।

बोर्डका उपसचिव जीवन गड्तौलाका अनुशार उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकले ढाँटेर सम्बन्धित विद्यालयकै शिक्षकले परिक्षण गर्न लगेको थाहापाएपछि उत्तरपुस्तिका फिर्ता लिइएको हो । फिर्ता लिइएको उत्तरपुस्तिका अब दशैं पछाडि मात्र चेकजाँच हुने गड्तौलाले बताउनुभयो ।

यता सत्यनारायण उच्च माविका प्राचार्य धर्मानन्द खरेलले आफूले पनि केहि निजी विद्यालयका शिक्षकलाई सोहि विद्यालयको उत्तरपुस्तिका जाँच गर्न दिएको थाहापाएपछि तत्काल रोक्न कार्यालयलाई भनेको र नरोकिए विभेदपूर्ण व्यवहार सह्य नहुने चेतावनी समेत दिएको बताउनुभयो ।

हिसान मोरङका उपाध्यक्ष तथा निहारिका कलेजका क्याम्पस प्रमुख अमित ढकालले परिक्षा बोर्डबाट नै भएको यस्तो विभेदपूर्ण व्यवहार राम्रो नभएको भन्दै यस विषयमा सरोकारवाला पक्षहरुसँग बसेर समाधान खोजिने बताउनुभयो ।

बोर्डका प्रमुख डम्बर बतासले घटनाको पुष्टि गर्दै भन्नुभयो,‘झुक्याएर तीनवटा थैली परिक्षणका लागि लगेको थाहा पाउनासाथ फिर्ता लिइएको छ । अब ति उत्तरपुस्तिकालाई विराटनगर भन्दा बाहिर परिक्षणका लागि पठाइने छ ।’

आफू कार्यक्रमका लागि विराटनगरबाहिर रहेको जानकारी गराउँदै उहाँले तीन वटा पोका मध्ये एउटा मेरिल्याण्ड कलेजका शिक्षकले लगेको र अन्य शिक्षादिप र अरनिको कलेजकाले लगेको भन्ने जानकारी आएको बताउनुभयो ।

यस बिषयमा मेरिल्याण्ड कलेजका संचालक समितिका सदस्य समेत रहनुभएका हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले कुन विद्यालयको उत्तरपुस्तिका हो भन्ने नहोस् भन्न कोडिङ गरिएको हुन्छ, त्यसले उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई कसरी थाहा हुन्छ र भन्दै जिज्ञासा राख्नुभयो ।

यद्यपी उहाँले एउटै शिक्षकले चारतिर अध्यापन गराउने हुँदा कुनै एउटाको नाम लिएको हुनसक्ने बताउनुभयो । उहाँले आफ्नै कलेजको उदाहरण दिँदै मेरिल्याण्डमा १ सय ७२ जना बिषय शिक्षक रहेको भन्दै ति मध्ये १ सय ६० जना आंशिक शिक्षक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘त्यस्ता शिक्षकले कुनै एउटा शिक्षणसंस्थाको नाम लिनु स्वभाविक रहेको बताउनुभयो ।’ परिक्षा बोर्डले मोरङको उत्तरपुस्तिका जिल्ला बाहिर परिक्षणका लागि पठाएको भए यस्तो विवाद आउने थिएन भन्दै उहाँले बोर्डले समयमा नै यस्ता विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

कक्षा १२ को परिक्षा गत भदौं ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोरोना महामारीका कारण गत वर्ष सम्बन्धित विद्यालयलाई नै परिक्षणको जिम्मा दिएको परिक्षा बोर्डले परिक्षाफललाई मर्यादित बनाउन भन्दै यसपटक आफैंले परिक्षणका लागि पठाएको हो ।

बोर्डले उत्तरपुस्तिका परिक्षण गर्न परिक्षकहरुको माग गर्दै सूचना जारी गरेको थियो । त्यसमा आवेदन दिनेहरु मध्येलाई उत्तरपुस्तिका परिक्षणका लागि दिइएको हो ।

विगतमा भने उत्तरपुस्तिका परिक्षणका लागि जिल्ला बाहिर नै पठाउने गरिएको थियो । तर यसपटक बोर्डले विद्यालयलाई परिक्षण गर्न नदिने र जिल्ला बाहिर पनि नपठाई विराटनगर भित्रकै सम्बन्धित विद्यालयकै शिक्षकलाई समेत परिक्षणका लागि दिएको पाएपछि आर्थिक चलखेल समेत भएको हुनसक्ने केहि निजि विद्यालय सञ्चालकहरुको आशंका छ । एक सञ्चालकले भन्नुभयो,‘बोर्डको यस्तो विभेदपूर्ण व्यवहारले धेरै आशंका उब्जिएको छ ।’

Back to top button