हिरासतमा थुनुवाको मृत्यु पछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा तनाव

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा थुनुवाको मृत्यु भएपछि आफन्तले प्रदर्शन गर्दा दोहोरो झडप भएको छ । मृतकका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको हो ।

प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् ।

प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताउनुभएको छ ।

उहाँले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताउनुभयो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा –५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा हुनुहुन्थ्यो । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् ।

उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएको भन्दै सोहि क्रममा थुनामै मृत्यु हुनु सुनियोजित रहेको दावी गरेका छन् ।

Back to top button