ताजा जनादेशमा जानु नै उचित : महासचिव ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताउनुभएको छ।

विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने स्पष्ट गर्नुभएको हो।

उहाँले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनः जनादेश पाउने विश्वास व्यक्त गर्नुभएको छ।

मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएको विषयमा सोधिएको प्रश्नमा महासचिव पोखरेलले भन्नुभयो, ‘तपाईहरुले देखिरहनुभएकै छ, यो तमासा र विकृति कसरी वा किन भयो, यसको वास्तविकता सञ्चार क्षेत्रले नै उजगार गरोस्।’

महासचिव पोखरेलले एमाले विपक्षमा रहँदा पनि समृद्धिका लागि पहल जारी राख्ने र जनताका लागि आवाज उठाइरहने उल्लेख गर्दै अप्ठेरो स्थितिमा पार्टीलाई नयाँ ढंगले अघि बढाउन हालै सम्पन्न विधान महाधिवेशनले नीति तथा विधिका लागि म्याण्डेट दिएको र मंसिरमा हुने दशौँ राष्ट्रिय महासधिवेशले नयाँ नेतृत्व निर्वाचित गर्ने जनाउनुभयो ।

उहाँले आफु दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्ने भए पनि अहिले अध्यक्ष ओलीले नेतृत्व गरेको यात्रालाई सत्ता गठबन्धनले चुनौती दिन खोजेकाले परामर्शमा मात्रै उम्मेदवारी तय गर्ने बताउनुभयो ।

Back to top button