सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ।

आज सार्वजनिक लेखा समितिको बैठकको सुरुमा बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको अभ्यास अनुसार पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको हो ।

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा माग गर्नुभयो ।

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताउनुभयो । सभापति शाहले यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ दिनुभएको छ ।

Back to top button