प्रदेश सरकारद्वारा खेलकुद र पर्यटन विकास बोर्डका साथै एक परिषद गठन

खेलकुद विकास बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेत

विराटनगर । मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले दुई वटा बोर्ड र एउटा परिषद गठन गरेको छ । प्रदेश १ मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश पर्यटन विकास बोर्ड, प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश श्रम सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिबारीका अनुसार मन्त्रालयको सचिवको नेतृत्वमा पर्यटन विकास बोर्ड गठन गर्ने निर्णय गरिएको छ । सदस्यमा मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका प्रतिनीधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका एक अधिकृत, पर्यटन महाशाखाका प्रमुख रहने छन् ।

यस्तै, उद्योग पर्यटन क्षेत्रबाट विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवि गौतम, सोलुखुम्बुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, इटहरीकी प्रेरणा थापा र विर्तामोडकी इन्दिरा श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सदस्यमध्येबाट उपाध्यक्ष चयन गरिने मन्त्री तिबारीले बताउनुभयो ।

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्बो, सदस्य सचिवमा विराटनगरका पर्शुराम बस्नेत भन्ने कृष्ण बस्नेत, सदस्यमा सुनसरीका भेषराज कार्की र विप्लभ घोष र ओखलढुंगाका थलु राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश श्रम सल्लाहकार परिषद उपाध्यक्षमा झापाका राजिव घिमिरे, सदस्यमा उद्योग परिसंघ प्रदेश १ अध्यक्ष विराटनगरका भीम घिमिरे, मोरङकी सीता उपाध्याय, धरानका सरोज श्रेष्ठ, इटहरीकी रञ्जु सिग्देल, जिफण्ड प्रदेश १ अध्यक्ष विराटनगरका किशोर धमला, विराटनगरका अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, निलम साह सोनार र सुनसरीका टिका प्रसाईलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री तिबारीले बताउनुभयो ।

बैठकले खुपु खोला जल विद्युत आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा समेत निर्णय गरेको छ । अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार बैठकले शेयर लगानी गर्ने निर्णय गरेको मन्त्री तिबारीले बताउनुभयो ।

Back to top button