मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धनद्वारा खारेजीको माग

विराटनगर । विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले संवैधानिक र कानुनी व्यवस्था अनुसार विश्वासको मत नलिएकोले खारेजीको माग गरेको छ ।

विपक्षी गठबन्धन प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी दलहरु माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकको निर्णयले यस्तो माग गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले गठबन्धनको बैठकले अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले दल विभाजन भएको मितिदेखि ३० दिनभित्र विश्वासको मत नलिएकोले असंवैधानिक भइसकेको हुँदा बर्खास्तीको माग गरेको बताउनुभयो ।

असंवैधानिक मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले केही व्यक्तिहरुलाई केही पदमा राजनीतिक नियुक्ति गर्ने तयारी गरेकोले त्यस्तो नियुक्ति कसैलाई पनि नलिन गठबन्धन दलले निर्णय गरी आग्रह गरेको कार्कीले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले बजेटको बाँडफाँड र राजनीतिक नियुक्तिको निर्णय गरेर प्रदेश सरकारको व्यभार बढाउन सरकारको आयु लम्ब्याउन खोजेको गठबन्धन दलको आरोप छ । मुख्यमन्त्री आचार्यलाई बर्खास्त गर्नका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई ध्यानाकर्षण गराउने समेत गठबन्धन दलको बैठकले निर्णय गरेको हो ।

Back to top button