साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित, फाइनल खेल्ने संभावना कायमै

काठमाडौं । साफ च्याम्पियनसिपको आइतबार माल्दिभ्यसको मालेस्थित नेसनल फुटबल स्टेडियममा सम्पन्न तेस्रो खेलमा नेपाल १–० गोलअन्तरले भारतसँग पराजित भएको छ । सुरुदेखि नै प्रतिरक्षात्मक शैलीमा खेलिरहेको नेपाललाई भारतका कप्तान सुनिल क्षेत्रीले खेलको अन्तिम समय ८२ औं मिनेटमा गोल गर्दै पराजित गरेको हो ।

सुरुवाति दुई खेल जितेर ६ अंक हासिल गरी शिर्षस्थानमा रहेका नेपाल भारतसँगको हारपछि दोस्रो स्थानमा झरेको छ । माल्दिभ्सले समान ६ अंकसहित शिर्षस्थानमा उक्लेको हो । भारत ५ अंकसहित तेस्रो र बंगलादेश ४ अंकसहित चौथौं स्थानमा छन् ।

नेपालले बंगलादेशविरुद्धको खेल बराबरीमा रोक्नसके पनि साफच्याम्पियनसिपको पहिलो फाइनल यात्रा तय गर्ने छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले पराजित गरेका थिए ।

Back to top button