दसैंमा ५५ अर्बको नयाँ नोट सटही हुन्छ, नोट बिगार्नेलाई जेल र जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैंमा नयाँ नोट सटहीलाई विशेष प्राथमिकता दिदै आएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाले आफ्ना काउन्टर मार्फत नोट सटही सुविधा दिने गरेका छन् ।

दसैंको समयमा पुराना नोटको सट्टामा नयाँ नोट दिने प्रचलन रहेको छ । विगतका वर्षहरुमा नयाँ नोट सटहीका लागि लामो लाइन हुने भएकाले नेपाल राष्ट्र बैंकले सुचना जारी गरि १ महिना अगाडी बाटै नयाँ नोट सटही सुविधा उपलव्ध गराएको छ । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नयाँ नोट सटही सुविधा उपलव्ध गराउने गरिएको छ ।

प्रत्येक नोटका बण्डलहरुमा १०० नोट नोट राखिएको हुन्छ । सेवाग्राहीहरुले दसैंमा दान दक्षिणा दिनका लागि ५ देखि १०० सम्मका नोटहरु माग गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५०० र १००० नयाँ नोटहरु अन्य नोटको तुलनामा कम माग हुने गरेको छ । दसैंमा मागका आधारमा नयाँ नोट सटही गरिने नेपाल राष्ट्र बैंकले बताए पनि प्राय प्रतिव्यक्ति १८ हजार ५०० सम्मको दिइने गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटहीका लागि अतिरिक्त जनशक्ति र समय छुट्याउनुपर्ने तथा नोट ढुवानी एंव वितरणका लागि लाग्ने अतिरिक्त लागतलाई बिचार गरी उक्त सिमा निर्धारण गरिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैंमा ५० देखि ५५ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने गरेको छ ।

यो वर्षको दसैंमा पनि उक्त हाराहारीमा नयाँ नोट सटही हुने अनुमान केन्द्रीय बैंकको छ । ठ्याक्कै परिमाण नै तोकेर भन्दा पनि सेवाग्राहीको मागअनुसार नयाँ नोट सटही गरिने गरिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउनुभयो ।

पछिल्लो तथ्याङ्कनुसार करिब १४ अर्ब रुपैयाँ नयाँ नोट सटही भइसकेकोले यो संख्या थप बढ्ने देखिन्छ । हामीले सेवाग्राहीको मागनुसार नयाँ नोट सटही सुविधा उपलव्ध गराइरहेका छौं’, उहाँले भन्नुभयो ।

नोट बिगारे जेल र जरिवाना

सर्वसाधारणले लाइन बसेर नयाँ नोट लिए पनि त्यसको संरक्षणमा भने पर्याप्त ध्यान दिएको पाइँदैन । नोट छप्पाइमा राज्यको सम्पति खर्च हुने कुरामा सर्वसाधारण वेखबर छन् ।

नेपाल राष्ट्र बैंकले छपाई गर्ने नयाँ नोटको गुणस्तरमा थुप्रै प्रश्नहरु उठे पनि सर्वसाधारणले यसको हिफाजतमा ध्यान नपुर्याउदा नोट चाँडै पुरानो, मैलो देखिने गरेको छ ।

दसैंमा टिका लगाई दान दक्षिणा स्वरुप नयाँ नोट दिइने प्रचलन रहेकाले टिकामा प्रयोग भएको अविरका कारण नयाँ नोट चाडै मैलो हुने गरेको छ । यसैगरी नोट केरमेट गर्ने तथा अव्यवस्थित प्रयोगका कारण चाँडै बिग्रने गरेको छ ।

नेपालमा असावधानीपूर्वक नोटको प्रयोग कानूनी रुपमा दण्डित छ । मुलुकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभावी कोरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ । कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा नोटको दुरुपयोग गर्ने अवस्था अन्त्य भने हुन सकेको छैन ।

Back to top button